बाढीकाे बितण्डा : पूर्वपश्चिम राजमार्गको पुल भत्किँदा सडक अवरुद्ध, पहाडमा पहिराे तराइमा डुबान

धनुषा । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । पुल भत्किएपछि बर्दिवास नगरपालिका–५ सशस्त्र प्रहरीको माईस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौँ गाडी रोकिएका छन् । रातिदेखि नै यात्रु सडकमा अलपत्र छन् । कतिपय यात्रु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।

आज बिहान विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । बर्दिवासको १४ नम्बर बजारका केही घरमा सडकको पानी पसेको छ भने किसाननगरमा तीन वटा घर भत्किएको बर्दिवास नगरपालिका–७ का अध्यक्ष फागुनी मगरले बताउनुभयो ।

बर्दिवास नगरपालिका–१ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् । रातिदेखि नै नेपाल टेलिकमका मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।

डुब्याे जनकपुर 

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ । घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ ।

पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका कार्यालय डुबानमा परेको छ ।

राष्ट्रिय समाचार समिति कार्यालय डुबानमा परी कार्यालयका कोठामा चार फिटसम्म पानी जमेको र कागजात क्षति पु¥याउनुका साथै समाचार सप्रेषणमा समस्या उत्पन्न भएको छ । वर्षाका कारण नेपाल टेलिकमको टेलिफोन र मोबाइल अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *