प्रधानमन्त्री ६ दिने भ्रमणका लागि भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ  । प्रधानमन्त्री केपी ओली बिहीबार भियतनाम र कम्बोडियाकाे औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु र कर्मचारीले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी सरकारको छ । समझदारी प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय परामर्श संयन्त्र सम्वन्धी छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कूटनीतिक सम्वन्ध रहे पनि सघन हुन नसकेको भियतनामसँग सम्वन्ध विस्तार गर्ने उदेश्यले भ्रमण तय भएको बताउनुभयो ।

परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले प्रधानमन्त्रीको यो भ्रमण आरम्भ भएको हो ।

प्रधानमन्त्री ओलीले ‘सार्वभौमिक समानता’ का आधारमा छिमेकी राष्ट्र, अमेरिकालगायतका शक्ति र अन्य राष्ट्रसँग सम्वन्ध कायम गर्ने नीति लिनुभएको छ । त्यस अनुसार नै छिमेकी राष्ट्र भारत र चीनको राजकीय भ्रमण गरिसक्नु भएको छ भने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रभावकारी उपस्थिति देखाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *