गाउँमै निःशुल्क स्वास्थ्य शिविर, स्थानीय सरकारको अनुभुत गर्दै नागरिक

हुमाकान्त पोखरेल
गुल्मी । जिल्ला सदरमुकाम तम्घासबाट ३९ किलोमिटर पश्चिममा मदाने गाउँपालिका । सदरमुकामबाट ५ किलोमिटर पिच सडक छ । त्यसपछि धुर्कोटसम्म ग्राभेल सडक छ । तर धुर्कोट र मदाने जोड्ने पनाहा खोलाको पुलबाट मदाने गाउँपालिकाको क्षेत्र सुरु हुन्छ । जहाँ बाटो, पानी, विद्युत लगायतका धेरै विकासका पूर्वाधारको विकास भइसकेको छैन ।

गाउँपालिकाको केन्द्र पुर्कोट दहबाट सबैभन्दा टाढाको गाउँ वडा नम्बर १ अग्लुङ २९ किलोमिटर टाढा पर्छ । अग्लुङका नागरिक सदरमुकाम तम्घास आउनुपरे जीपमा ६५० भाडा तिरी ६ घण्टाको यात्रा गर्नुपर्छ । यस्तो ठाउँमा मदाने गाउँपालिकाले गाउँमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ग¥र्यो । जसले गर्दा धेरै नागरिकलाई स्वास्थ्यको क्षेत्रमा राहात मिलेको छ । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउदा स्थानीय खुसी भएका छन् ।

मदाने गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा मदानेका साथसाथै धुर्कोट, मालिका, इस्मा, प्युठानको गौमुखी लगायतका क्षेत्रबाट नागरिकले जाचँ गराएको गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो ।

२१ जना डाक्टरद्धारा उपचार

बरिष्ठ सर्जन डाक्टर भुवन पौडेलको नेतृत्वमा १७ जना विशेषज्ञ डाक्टर, तीनजना मेडिकल अफिसर र एकजना फार्मेसी गरी कुल २१ जडा डाक्टरहरु शिविरमा संलग्न थिए । शिविरमा नाक, कान, घाँटी, भिडियो एक्सरे, मुटु रोग, बालरोग, छाला, हाडजोर्नी, आँखा, मानसिक तथा नशासम्बन्धी रोग लगायतको जाँच गरिएको थियो ।

‘यही औषधी लिन तम्घास जाँदा धरै रकम खर्च हुन्थ्यो, समय पनि बढी लाग्थ्यो ।’ औषधी लिएपछि मदाने गाउँपालिकाकी चन्दकला भुसालले भन्नुभयो, ‘शिविरले हामिजस्ता ग्रामीण भेगका नागरिकलाई धेरै राहात मिलेको छ ।’ मदाने गाउँपालिका १ अग्लुङका बासुदेव चन्द ढाड र घुँडा दुख्ने समस्याको समाधान खोज्न शिविरमा आउनुभयो ।

शिविरमा निःशुल्क औषधी पाएपछि शिविर आयोजना गर्ने गाउँपालिका र उपचार गर्ने डाक्टरहरुप्रति धन्यवाद दिनुभयो । ‘न्यूनतम पनि तम्घास जाँदा–आउदाँ पैसा र समय बढी खर्चनुपथ्र्यो ।’ उहाँले भन्नुभयो, ‘बल्ल स्थानीय सरकार भएको अनुभव हुन थालेको छ ।’ त्यसका साथै उहाँले आगामी दिनमा मदाने गाउँपालिकामै सुविधासम्पन्न अस्पताल खोलेमा धेरै नागरिक लाभाम्बित हुने सुझाव दिनुभयो ।

शिविरमा पुरुषभन्दा महिला बढी

चैत्र ३० र वैशाख १ गते गरी दुईदिनसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा पुरुषभन्दा बढी महिलाले सेवा लिएका छन् । दुईसम्म कुल दुई हजार ६३७ जनाले सेवा लिए । जसमध्ये एक हजार ६० पुरुष र एक हजार ५७७ महिलाले सेवा लिएका छन् । पहिलो दिन जम्मा एक हजार ५१० जनाले सेवा लिए । जसमध्ये ६३९ जना पुरुष र ८७१ महिलाले सेवा लिएको गाउँपाकिाका प्रमुख प्रशासकिय अधिकृत शुरेश भण्डारीले जानकारी दिनुभयो ।

दोस्रो दिन वैशाख १ गते पुरुष ४२१ पुरुष र ७०६ महिला गरी कुल एक हजार १२७ जनाले सेवा लिएको भण्डारीले जानकारी दिनुभयो । शिविरमा कुल १९६ जनाले भिडियो एक्सरे तथा ३०१ जनाले इसिजी सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले जनताको स्वास्थ्यसम्बन्धी अधिकार प्रत्याभुत गराउन शिविरको आयोजना गरिएको बताउनुभयो । ‘संविधानमा नै जनताले स्वास्थ्य सेवा अधिकार उल्लेख गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘त्यसैलाई पुरा गर्न र स्थानीय सरकारको प्रत्याभुत गराउन शिविरको आयोजना गरेका हौँ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *