विकास र समृद्धिलाई अवरोध गर्ने कुरा प्रजातन्त्र होइनः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले विकास र समृद्धिलाई अवरोध गर्ने कुरा प्रजातन्त्र नभएको बताउनु भएको छ । राजधानीमा आयोजित नेत्रहीन संघको रजत महोत्सव र पर्यटन व्यवसायीहरुसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले नकारात्मक ढंगबाट राजनीति गर्नेहरुलाई निरुत्साही गर्ने र स्थिरता र समृद्धिको वातावरण बनाउने तिर पार्टी र सरकार केन्द्रित भएको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘अनावश्यक ढंगले वातावरण नबिग्रियोस भन्ने तिर हामी लागेका छौं । कसैको माग र जिद्धिका अगाडि राज्य झुक्ने कुरा सम्भव छैन । जिद्धि कसेर यही हुनुपर्छ भन्ने कुरा प्रजातन्त्र होइन ।’

अध्यक्षले अराजकता र अस्थिरतामा रमाउने एउटा वर्गलाई यो राजनीतिक स्थिरता मन नपरेको बताउनुभयो । अस्थिरता र अराजकतामा रमाउनेहरु र अस्थिरता र अराजकताबाट ब्रम्हलुट मच्चाएर करोडौं, अरबौ कुम्ल्याउनेहरु अहिले त्यति खुसी छैनन्’, उहाँले भन्नुभयो ।

देशमा भर्खरै ७० वर्ष लामो राजनीतिक अराजकता र अस्थिरतालाई तोड्दै एउटा स्थिर सरकार बनेको बताउनुहुँदै अस्थिरता र अराजकतमा रमाउन पल्केका त्यस्ता तत्वहरु अहिले पनि यो स्थिरता नहोस् भनेर कुनै न कुनै रुपमा वातावरण धमिल्याउने तिर लागेको अध्यक्षको भनाई थियो । उहाँले भन्नुभयो, ‘उचित कुराहरुलाई सम्बोधन गर्दै उचित ढंगले त्यस्ता तत्वहरुलाई प्रतिवाद गर्दै अगाडि बढ्नुपर्छ ।’

अध्यक्षले अगाडि भन्नुभयो, ‘समावेशी र सबैको समानुपातिकता सहितको समृद्ध नयाँ नेपालको निर्माण गर्ने संकल्प गरेका छौं । विस्तारै हामीहरु संविधानमा व्यक्त गरिएका बिचार र भावना अनुसार ऐन र आयोग बनाउने प्रक्रियामा लागेको छौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *