बारा पर्साका हावाहुरी पीडितलाई प्रदेश सरकारले चारकोठे घर बनाइदिने

जनकपुरधाम । आइतबार साँझ बारा र पर्सामा आएको बिनासकारी हावाहुरी प्रभावितहरुलाई प्रदेश २ सरकारले चारकोठे घर बनाइदिने भएको छ । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले हावाहुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु प्रदेश सरकारले बनाइदिने बताए ।

जसमा शौचालय समेत हुनेछ । उक्त घर आगामी चार महिनाभित्रै बनाइसक्ने उनले बताए । पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको उनले बताए ।

त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै केहि दिनभित्रै टेन्टभित्र सारिने उनको भनाइ छ ।उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

यसैबीच प्रदेश २ का सांसदहरुले बारा र पर्साका हाबाहुरी पीडितका निम्ति आफ्नो तलव दिने घोषणा गरेका छन् । प्रदेशका २ जना सांसद अशोक यादव र फूल बाबुले एक महिनाको तलव दिने घोषणा गरेका हुन् ।

यस्तै १ सय ५ जना सांसदले एक हप्ताको तलव दिने घोषणा गरेका छन् । बुधबारको प्रदेशसभा बैठकले हाबाहुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसभा समेत पारित गरेको छ ।

आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *