सिलुवाकाे स्वास्थ्य शिविरमा ५ सय बढीले लिए सेवा

सुनिल कार्की 
पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवामा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको गोरखदल गण पाल्पा, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राबिधिक सहयोगमा स्वास्थ्य सिबिर सम्पन्न भएको हो । शिविरको आयोजना गाउँपालिकाले गरेको हो ।

स्वास्थ्य शिबिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले भौतिक बिकासका साथै जनतालाई प्रत्यक्ष लाभ दिनसके मात्र समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा हुने बताउनुभयो । जनताको स्वास्थ्य नै स्थानिय सरकारको सम्पती भएको हुँदा स्वस्थ र सचेत नागरिक तयार गरि जनताको आय आर्जनमा बृद्धिगर्ने योजना गाउँपालिकाले बनाएको उहाँको भनाई थियो ।

कार्यक्रमममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तले आम जनतालाई आधारभुत स्वास्थ्यको प्रत्याभुती दिलाउन स्थानिय सरकारले एकिकृत बृहत स्वास्थ्य शिवीरको आयोजना गरेको बताउनुभयो । गाउँपालिकाको भौगोलिक विकटताका कारण घर घरमा स्वास्थ्य सेवाको शुरुवात गरिएको जसका कारण लुकेर रहेका रोगको पहिचान गरि सेवा उपलब्ध गराउने उद्धेश्यले शिविर संचालन गरिएको पन्तले बताउनु भयो ।

गाउँपालिकाका सुचना अधिकृत मोहन ढकालले गत आर्थिक बर्षमा ६ वटै स्वास्थ्य चौकीमा वर्थीङ सेन्टरले पुर्णता पाईसकेको हुदाँ यस बर्ष शुन्य होम डेलीभरीको अभियानमा आफुहरु लागि परेको बताउनु भयो । गाउँपालिकामा हाल ५३ वटा स्वास्थ्य आमा समुह स्वास्थ्य शिक्षा दिनका लागि क्रृयाशिल रहेकोले १ सय १० जना सुत्केरी आमाहरु लाई स्वास्थ्य चौकीमा सुत्केरी गराइएको उहाँको भनाई थियो ।


नेपाल परिवार नियोजन पाल्पा शाखा प्रमुख शोभाकान्त न्यौपानेले महिलाहरुमा लुकेर बसेका स्वास्थ्य समस्याहरुको समाधानका लागि शिविर संचालन गरिएको बताउनु भयो ।
नेपाली सेनाको पाल्पा स्थित गोरखदल गणले सेना दिवस २०७५ को अवसरमा शिविर संचालन गरिएको र शिविरमा ई.सि. जी, सुगर, हाडजोर्नी लगायत सबै प्रकारका रोगको परिक्षण गर्नुका साथै ९० भन्दा बढी प्रकारका औषधी बिरामीहरुलाई उपलब्ध गराइएको गोरख दल गण पाल्पाका मेजर मनोज डंगंोलले जानकारी गराउनुभयो । उहाँले बिरामीहरुलाई आफ्नो समस्या सही रुपमा स्वास्थ्यकर्मीलाई बताउन आग्रह गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ पाल्पाको टोलीले महिलाहरुको पाठेघरको मुखको क्यान्सर, आङ खस्ने ब्यथाको परिक्षण र सेवा उपलब्ध गराइएको थियो । शिविरमा भिआईए ८२ जना, नरपलान्ट २६ जना र सामान्य स्वास्थ्य परिक्षण ४०० जना गरि जम्मा ५२७ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
आफ्नो पालामा स्कुल, स्वास्थ्य चौकी नभएको र बुढेशकालमा भएपनि गाउँमै उपचार गराउन पाउँदा खुशी लागेको शिविरमा स्वास्थ्य सेवा पाई फर्केका ८६ बर्षिय नवराज पंगेनीले बताउनु भयो ।

पैसा नहुँदा गाउँघरका महिलाहरु अस्पतालमा उपचार गर्न नसक्ने हुँदा गाउँमै आफ्नो ब्यथाको बारेमा सल्लाह र उपचार पाउँदा खुशी भएको चोलाकान्ती ढकालले बताउनुभयो । शिविर निकै प्रभावकारी भएको सिलुवाकी यममाया आलेले बताउनु भयो ।

१ दिने स्वास्थ्य परिक्षण सिबिरमा डा. झपेन्द ढकाल,डा. बिजय के सी , नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोभाकान्त न्यौपाने, कल्पना न्यौपाने, भगवती न्यौपाने, देबदह स्वास्थ्य चौकी प्रमुख रेम बहादुर दिशा, रमेश ढकाल कालि गण्डकी दन्त उपचार केन्द्रका प्रमुख रमेश न्यौपानेले बिरामीको जाच गर्नुका साथै परामर्श दिएका थिए । सोहीे अवसरमा गाउँपालिका अध्यक्ष थापाले ९ हप्ता सम्मका गर्भवतीहरुको लागि सुरक्षित गर्भपतन सेवा समेत सिलुवामा औपचारिक रुपमा शुभारम्भ भएको जानकारी गराउनु भएको थियो ।

औपचारिक कार्यक्रम पूर्वखोला गाउँपालिका वडा नं. १ सिलुवाका वडा अध्यक्ष भोग बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्वीर : सौजन्य नेपाली सेना गोरखदल गण पाल्पा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *