पश्चिम सेती सुदूरपश्चिमवासीलेनै बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री देउवा

कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताउनुभएको छ । प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको आज महेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले विकासका लागि सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश भएकाले गौरवको योजनालाई यहीँका जनताले बनाउनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले परियोजनाको शेयर सुदूरपश्चिवासीलाई दिनुपर्ने र त्यसको नाफा पनि यहाँका जनतालेनै पाउनुपर्नेमा जोड दिनुभयो । “जलविद्युत्का दृष्टिकोणले यो प्रदेश सबैभन्दा धनी प्रदेश बन्न सक्छ, कर्णाली यहीँ छ, सेती र महाकाली यहीँ छन्, प्राकृतिक साधनको उचित प्रयोग गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।

वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्री देउवालाई सोही अवसरमा १२ किलोको मालाले अभिनन्दनसमेत गरेको थियो । यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० कक्ष छन् । महोत्सवमा दैनिक उपभोग्य सामग्री, गारमेन्टका सामग्री, इलेक्टोनिक्स, अटोमोबाइल, कृषिका आधुनिक औजार सामग्री, बाल उद्यान, दुग्धजन्य वस्तुलगायत राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *