हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रदेशसभा अधिवेशन अन्त्य : कानूनी प्रक्रिया मिचेको आरोप
धनुषा । प्रदेश २ प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्यको घोषणा कानूनी प्रक्रिया मिचेर गरिएको आरोप प्रतिपक्षी दलले लगाएको छ । प्रतिपक्षी नेपाली काङ्ग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले संवैधानिक र प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रदेश प्रमुखले प्रदेशसभालाई अधिवेशन अन्त्य भएको पत्र पठाउने र सो पत्र प्रदेशसभा बैठकमा सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य भएको मानिने भए पनि त्यस्तो नगरी अधिवेशन अन्त्य गरिएको हुँदा कानूनी प्रक्रिया मिचिएको बताउनुभयो ।
फागुन १५ गते ३ बजेका लागि आह्वान गरिएको बैठकअगावै प्रदेश सरकारको सिफारिसमा फागुन १२ गते आइतबार साँझ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको पत्रका आधारमा प्रदेशसभा अधिवेशन मध्यरातमै अन्त्य भएको सोमबार जारी सूचनामा जनाइएको छ । संविधानको धारा १८३ को उपधारा २ बमोजिम र प्रदेशसभा कार्य सञ्चालन नियमावलीको नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको घोषणासम्बन्धी सूचना जारी गरिएको छ ।
नियमावलीको नियम ३ को उपनियम २ मा संविधानको धारा १८३ को उपधाराबमोजिम सभाको अधिवेशन प्रदेश प्रमुखले अन्त्य गरेमा सोसम्बन्धी सूचना सभामुखले बैठकमा पढेर सुनाउनेछ भनिएको छ । अर्थात् कानूनी प्रक्रिया मिचेर नै अधिवशेन अन्त्यको घोषणा गरिएको बताइएको छ ।
हुन त उपनियम ३ मा बैठक स्थगन भएको अवस्थामा अधिवेशन अन्त्य भएमा सोसम्बन्धी जानकारी सचिवले सूचनापत्रद्वारा सदस्यलाई दिने भनिएको छ । सो उपनियममा बैठक स्थगन भएको अवस्थामा मात्र सचिवले सूचना जारी गर्न पाउने व्यवस्था छ । तर फागुन १५ का लागि आह्वान गरिएको बैठक स्थगन नै नगरी प्रदेशसभाले अधिवेशन अन्त्य गर्नु कानूनी प्रक्रियाविपरीत भएको आरोप प्रतिपक्षी नेपाली काङ्ग्रेस प्रदेश २ संसदीय दलका नेता यादवले लगाउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो बैठक हामीले अवरुद्ध गरेपछि फागुन १५ मा आह्वान गरिएको थियो । तर सो बैठक स्थगन नै नगरी अधिवेशन अन्त्य गर्नु संविधान र नियमावलीविपरीत छ ।”
प्रमुख प्रतिपक्षी दल नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले भने अधिवेशन अन्त्य भएको कुरा आफूहरूले जानकारी पाएको तर बैठक स्थगन भएका विषयमा कुनै जानकारी नआएको बताउनुभयो । उहाँले बैठक स्थगन नगरी एक्कासी अधिवशेन अन्त्य गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।
प्रदेशसभाको पछिल्लो बैठक फागुन ४ मा बसेको थियो । सो बैठकमा नेपाली काङ्ग्रेसका सांसदले वीरगञ्जस्थित बिपी कोइराला उद्यानमा प्रदेश सरकारले शहीदपार्क निर्माणका लागि शिलान्यास गरेको भन्दै बैठक नै अवरुद्ध गरेका थिए ।
विवादका कारण अवरुद्ध हुन पुगेको प्रदेशसभा बैठकमा सभामुखले अर्को बैठक फागुन १५ गतेका लागि आह्वान गर्नुभएको थियो । अब तेस्रो अधिवेशन सञ्चालन नभएसम्म बैठक स्थगन रहने भनी सभामुखले दोस्रो अधिवेशन अन्त्यको सूचना प्रकाशित गर्न लगाउनुभएको हो ।
जेठ ३ गतेदेखि शुरु भएको दोस्रो हिउँदे अधिवेशनमा ४८ वटा बैठक बसेको र १६ वटा विधेयक पारित भएको संसद् सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिनुभयो । प्रदेशसभाले हालसम्म सात वटा समितिमध्ये छ वटा समितिको सभापति सर्वसम्मत चयन गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपाको आन्तरिक विवादका कारण लेखा समितिको सभापति चयन हुन सकेको छैन । दुई वटा अधिवेशन सम्पन्न भए पनि प्रदेश सरकारले प्रदेशको नाम, राजधानी र भाषासम्बन्धी विधेयक प्रदेशसभामा अहिलेसम्म पनि पेश गर्न सकेका छैन । रासस