स्थानीय सरकारले दियाे युवालाई सीप तालीम

खस्यौली । बुटवल उपमहानगरपालिकाले यहाँका युवाहरुलाई सीपमूलक तालीम दिएको छ । उपमहानगरले एक परिवार एक रोजगार/स्वरोजगार (नगर प्रमुख युवा इलम) कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम सिकाएको हो ।

‘मेयर युवा इलम नाम’को नौलो कार्यक्रममार्फत पहिलो चरणमा बुटवलको १९ वडाका तीन सय ६५ युवालाई इलम सिकेको प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना र स्वागतयोग्य कार्यक्रम मानिएको छ । सोही अभियानस्वरूप पहिलो चरणको प्राविधिक तालीम लिएका २३२ जना युवालाई पनि प्रमाणपत्र वितरण गरिएको छ ।

सीप विकास तालीम केन्द्रमार्फत यी युवाहरुलाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ र फेशन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो । कुक तालीम लिएका ८० जना, एसी तथा रेफ्रिजेरेटर मर्मत तालीम लिएका ४६ जना, प्लम्बिङ तालीम लिएका १२ जना र फेशन डिजाइन तालीम लिएका ९४ जना छन् । बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ अभियान चलाइएको थियो ।

सीप सिकेका युवालाई रोजगारीका लागि रोजगादाताहरुसँगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

युवाहरुलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत गर्नेबारे तालीम दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताउनुभयो । अटो मेकानिक्स, जनरल मेकानिक्स, वेल्डिङ सोलार इलेक्ट्रिकल, होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीम, तथा एसी, रेफ्रिजरेटर मर्मतलगायतका विषयमा तालीम दिइएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *