हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन : वरिष्ठ नेता नेपाल
दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताउनुभएको छ । कम्युनिष्ट नेता एकदेव आलेको ५०औँ स्मृति दिवसका अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भने जस्तो अधिनायकवादी हुन नसक्ने बताउनुभयो ।
उहाँले हुकुमी शासन लाद्ने र देशमा अधिनायकवाद आउने कसैले सोचेको छ भने त्यस्तो सोच त्याग्न आग्रह गर्नुभयो । चुनावबाट काङ्ग्रेस विस्थापित भएपछि छटपटाएको आरोप लगाउँदै वरिष्ठ नेता नेपालले जनताकै सेवाका लागि सरकार गठन भएकोले वर्तमान सरकार जनताबाट टाढा भाग्न नसक्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले सरकारको बारेमा आएका गुनासा जायज भए त्यस्ता जायज गुनासालाई सम्बोधन गर्न सरकार तयार रहेको जानकारी गराउनुभयो । निरन्तर जनताका पक्षमा काम गरेकोले जनताले कम्युनिष्ट पार्टीलाई बहुमत दिएको चर्चा गर्दै वरिष्ठ नेता नेपालले जनताको विश्वास र समर्थनलाई पूरा गर्नेतर्फ सरकार अघि बढेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि अहिलेको आवश्यकता रहेकोले त्यसतर्फ सरकार अघि बढेको बताउनुभयो । सरकार गठन भएको छोटो अवधिमा सरकारले धेरै काम गर्न नसकेपनि राम्रो काम गरेको चर्चा गर्दै उहाँले सरकारलाई सफल बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले सैद्धान्तिक सहमति भए नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दुई तिहाईको सरकार असफल बनाउने षड्यन्त्र भएकाले त्यस्ता षड्यन्त्रलाई चिर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री भिमप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष शङ्कर बराललगायतले एकदेव आलेको योगदानको चर्चा गर्नुुभएको थियो । सोही अवसरमा वरिष्ठ नेता नेपालले प्रतिष्ठानले निर्माण गरेको भवनको उद्घाटन गर्नुका साथै स्मारिकाको समेत विमोचन गर्नुभएको थियो ।