गाडी खरिद प्रकरणको छानबिन शुरु

बुटवल ।  प्रदेश नम्वर ५ को गाडी खरिद प्रकरणको छानबिनका लागि गठित संसदीय उपसमितिले आजदेखि काम थालेको छ । प्रदेश सरकार र संसदले चालु आर्थिक वर्षमा खरिद गरेका सवारी साधनका सम्वन्धमा छानबिन गर्न गठित उपसमितिको पहिलो बैठक शनिबार बसेको हो ।

बैठकमा मन्त्रालय र सचिवालयबाट प्राप्त पत्रका साथ फाइल खोल्दै संयोजक कुलप्रसाद पोखरेलले सवारी साधन खरिद प्रकरणमा उठेका बिषयको यथार्थ बिवरण छिट्टै सार्वजनिक गरिने बताए । आवश्यक परे विज्ञहरुसँग समेत छलफल र परामर्श गरिने उनले उल्लेख गरे ।

प्रदेश ५ को संसद तथा सरकारले चालुु आबमा करिब २३ करोडको सवारी साधन खरिद गरेको थियो । संसदका विभिन्न समितिका सभापतिदेखि प्रमुख प्रतिपक्ष दलका नेता, सत्ता पक्षका प्रमुख सचेतकलगायतका लागि खरिद गरिएका १३ वटा सवारी साधनमध्ये अधिकांश बजारमुल्य भन्दा बढीमा खरिद गरिएका छन् ।

ती सवारी साधन एक महिनामा नै बिग्रन थालेपछि आर्थिक अनियमितता भएको आशंका गरिएको छ । अधिकांश गाडी नेकपा संसदीय दलका प्रमु्ख सचेतक भुमिश्वर ढकालको पहलमा उनकै संलग्नता रहेको सफल अटो ईन्टरनेशनल मार्फत खरिद गरिएको छ ।

चढेको नयाँ गाडी बिग्रन थालेपछि सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले अनुसन्धानमा सहज हुने भन्दै शुक्रबार नै संसद सचिवालयमा फिर्ता गरेका छन् ।

प्रदेश नम्वर ५ को प्रदेश सभा सार्वजनिक लेखा समितिले गाडी खरिदका सम्बन्धमा छानविन गर्न शुक्रबार उपसमितिमा नेकपाका सांसद कुलप्रसाद पोखरेल संयोजकत्वमा समिति समेत गठन गरिएको छ । समितिमा कांग्रेसका वैजनाथ कलवार र राजपाकी कल्पना पाण्डे सदस्य छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *