जेन जीलाई राज्यसंयन्त्रमा सहभागी गराउन ‘छलफल जारी’,

What To Know

  • काठमाडाैं । सरकार परिवर्तन हुने गरी भदौ २३ र २४ गते भएको आन्दोलनको एक महिना पुग्दा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले “भविष्यको नेपाल निर्माणमा” जेन जीलाई “अर्थपूर्ण” रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने बताएकी छन्।.
  • जेनजी आन्दोलनमा सहभागी एक अभियानकर्मी अमृता वन भन्छिन्, “हाम्रो पुस्तालाई चाहिँ यिनीहरू सानै छन्, केही पनि जान्दैनन्, यिनीहरूमा अनुभव छैन भनिन्छ। तर सिंहदरबार कसरी चल्छ भनेर कतै न कतैबाट एउटा अनुभव भयो र थाहा पाउन सक्यौँ भने आउँदा दिनमा नेतृत्व गर्न सक्छौँ। त्यसैले यो संयन्त्रबारे प्रधानमन्त्रीले भन्नुभएको कुरालाई मैले सकारात्मक रूपमा लिएकी छु।”.

काठमाडाैं । सरकार परिवर्तन हुने गरी भदौ २३ र २४ गते भएको आन्दोलनको एक महिना पुग्दा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले “भविष्यको नेपाल निर्माणमा” जेन जीलाई “अर्थपूर्ण” रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने बताएकी छन्।

यसबाहेक छुट्टै संयन्त्र बनाएर भन्दा पनि राज्यका विद्यमान संयन्त्रहरूमा जेन जीको अर्थपूर्ण सहभागिता गराउने प्रयास पनि सरकारले गर्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बीबीसीलाई बताएका छन्।

बिहीवार साँझ प्रधानमन्त्रीले एउटा भिडिओ सन्देशमा बोल्दै भनेकी थिइन्, “भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने छौँ। यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ।”

प्रधानमन्त्रीको उक्त सम्बोधन सकारात्मक रहेको र सरकार बनेयता आफूहरू प्रधानमन्त्रीलगायत सरकारका प्रतिनिधिहरूसँग निरन्तर सम्पर्कमा रहेको जेन जी आन्दोलनका अभियानकर्मीहरूले बताएका छन्।

अर्थपूर्ण सहभागिता कसरी?

प्रधानमन्त्री कार्कीले आफ्नो नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको बिहीवारको भिडिओ सन्देशमा भनेकी छन्।

“हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौँ। र, नयाँ मार्गमा अघि बढिरहेका छौँ। यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनेकी छन्।

“भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न हामी राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता जनाउन चाहन्छौँ।”

तर त्यस्तो प्रतिबद्धताका लागि सरकारले छुट्टै संयन्त्र बनाउने भन्दा पनि राज्यका भइरहेका संयन्त्रमा जेन जीहरूलाई सहभागी गराउने कुरामा प्रधानमन्त्रीले जोड दिएको सरकारका प्रवक्ता खरेलले बताए।

“छुट्टै संयन्त्रभन्दा पनि जेन जीहरूका माग अथवा उनीहरूका आवाजहरूको प्रतिनिधित्व राज्यका सबै संयन्त्रमा सुनिश्चित हुनुपर्छ भन्ने कुरा हो,” मन्त्री खरेलले भने।

“त्यो चाहिँ कहाँकहाँ गर्ने, कसरी गर्ने, कसलाई गर्ने भन्ने विषयमा हामी जेन जीसँग पनि छलफल गरिरहेका छौँ। यसमा उहाँहरूको पनि इच्छा र तत्परता चाहिन्छ। उहाँहरूको इच्छा आउन बाँकी छ।”

त्यसका लागि संविधान, कानुन हेरेर जेन जीका इच्छाबारे सबै किसिमको विकल्पमा काम भइरहेको मन्त्री खरेलले बताए।

जेन जी स्वयंले राज्यका संयन्त्रहरूले कसरी काम गर्छन् भन्नेबारे युवाले बुझ्नका लागि त्यस्तो संयन्त्र बन्नुपर्ने ‍औँल्याएपछि नै सरकार त्यता लागेको उनले बताए।

जेन जीको प्रतिक्रिया

जेन जीलाई अर्थपूर्ण रूपमा सहभागी गराउने भन्ने प्रधानमन्त्रीको प्रतिबद्धतालाई आफूहरूले “सराहनीय” मानेको अभियानकर्मीहरूले बताएका छन्।

विगतका कुनै पनि सरकारले जेन जी पुस्तालाई समेटेर अगाडि बढेको नदेखिएका कारण पनि यो आफूहरूका लागि महत्त्वपूर्ण र सकारात्मक लागेको उनीहरूले बताएका हुन्।

जेनजी आन्दोलनमा सहभागी एक अभियानकर्मी अमृता वन भन्छिन्, “हाम्रो पुस्तालाई चाहिँ यिनीहरू सानै छन्, केही पनि जान्दैनन्, यिनीहरूमा अनुभव छैन भनिन्छ। तर सिंहदरबार कसरी चल्छ भनेर कतै न कतैबाट एउटा अनुभव भयो र थाहा पाउन सक्यौँ भने आउँदा दिनमा नेतृत्व गर्न सक्छौँ। त्यसैले यो संयन्त्रबारे प्रधानमन्त्रीले भन्नुभएको कुरालाई मैले सकारात्मक रूपमा लिएकी छु।”

तर त्यो संयन्त्रमा काठमाण्डूकेन्द्रित जेन जीभन्दा पनि देशभरिका र समावेशी हुने गरी युवाको प्रतिनिधित्व होस् र उनीहरूले दिएका सुझावलाई गम्भीरतापूर्वक लिइयोस् भन्ने आफूलाई लागेको उनले बताइन्।

“संयन्त्र जतिसक्दो सहभागितामूलक होस्। त्यहाँ सुदूरपश्चिमदेखि देशका विभिन्न भागका विभिन्न जातजातिका मानिसहरू समेटिने गरी समावेशी बनोस्। त्यस्तो संयन्त्र केवल बन्नका लागि मात्रै नभई त्यहाँ रहेका युवाले दिएका सुझावहरू सरकारले गम्भीरतापूर्वक लिओस् भन्ने लागेको छ,” उनले भनिन्।

प्रधानमन्त्रीले यसअघिका आफूहरूसँगको भेटमा जेन जी पुस्ता सरकारसँग टाढा रहेको भन्दै एउटा संयन्त्र नै बनाएर सरकारसँग नजिक ल्याउने बताएको अर्का अभियानकर्मी प्रदीप ज्ञवालीले बीबीसीलाई बताए।

कस्तो संयन्त्र बन्ने भन्ने विषयमा भने छलफल भइनसकेको उनी बताउँछन्।

“जेन जी पुस्तालाई कुनै संयन्त्र बनाएर त्यो प्रणाली बुझाउन र देखाउनका लागि उहाँले जुन भूमिका खेल्छु भन्नुभएको छ, त्यो सराहनीय छ। हामी त्यसको स्वागत गर्छौँ,” ज्ञवालीले भने।

जेन जी आन्दोलनको जगमा बनेको अहिलेको सरकारले आफ्नो ‘म्यान्डेट’अनुसार काम गरिरहेको देखिएको उनले बताए।

“प्रत्येक दिन उहाँहरूले निर्वाचन आयोगसँग चुनावको तयारी र मन्त्रिपरिषद्‌मा विभिन्न छलफल गरिरहनुभएको छ र ती संवादहरूमा स्पष्ट रूपमा हाम्रो माग अनुसार काम भइरहेको छ।”

सरकार बनेयता प्रधानमन्त्री लगायत मन्त्रिपरिषद्का सदस्यहरूसँग आफूहरू निरन्तर सम्पर्कमा रहँदै आएको ज्ञवालीले बताए।

“मुख्य गरी सुशासन कायम गर्न र आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउन उहाँहरू प्रतिबद्ध भएको देखिएको छ।”

त्यस्तो संयन्त्रले शासन विधि कसरी चल्छ र मन्त्रालयलगायत विभिन्न सरकारी निकायले कसरी काम गर्छन् भन्ने बुझ्न मद्दत पुग्ने गरी बनिदिओस् भन्ने आफूलाई लागेको उनले बताए।

यद्यपि देशमा दुई दिनमै ठूलो राजनीतिक परिवर्तन हुने गरी भएको जेन जी आन्दोलनको नेतृत्वकर्ता को हो भन्ने अझै स्पष्ट देखिन सकेको छैन।

कतिपयले नेतृत्व र राजनीतिक मार्गचित्रबिना उनीहरूका ‘म्यान्डेट’ सतही हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गर्ने गरेका छन्।

जेन जी अभियानकर्मी ज्ञवालीले भने आफूहरू त्यसबारे छलफलमै रहेको बताएका छन्। बीबीसी नेपालीबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *