सत्यवती मेलामा किन मागिन्छ मध्यरातमा चिच्याएर बर

सुनिल कार्की
पाल्पा । चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला सकिएको छ । तिनाउ गाउँपालिका–४ कोलडाँडास्थित सत्यवती तालमा बुधबारदेखि शुरु भएको मेला आज सकिएको हो ।

सत्यवती बज्यै बहिरी भएको र उनीसँग मध्यरातमा चिच्याएर आफूले चाहेको वर मागे पूरा हुने विश्वास छ । रातको समय सत्यवती तालमा लिंगो गाड्ने र हजारौं लिंगोको बीचमा आफूहरूले राखेको लिंगो बिहानपख चिनेर पूजा गर्ने चलन छ । मन्दिरमा बजैलाई पूजा गरेपछि टीका, चुरा, साडी चोलीसमेत चढाउने चलन छ । सत्यवती बजैको लागि कुखुरा, बोका र परेवा बलि पनि दिने परम्परा छ ।

पहिले पहिले चिच्याएर वर माग्दा गुञ्जायमान हुने तालक्षेत्र पछिल्लो समय चिच्चाएर वर माग्न युवा पुस्ता लाज मान्न थालेपछि परम्परागत रुपमा चलेको चिच्याएर वर माग्ने पुरानो परम्परा भने आजभोलि हराउँदै गएको छ । अध्यारो भएपछि तालमा पुग्ने र विहान झिसमिसे उज्यालो नहुदै मन्दिर परिसर छोड्नुपर्ने परम्परागत मान्यता रहेको छ । तर आजभोलि भने दिउँसोमा नै बर माग्ने र दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । सत्यवती तालमा पहिले पहिले लिङ्गो गाड्दै गएपछि पानी आफै बढ्दै जाने र गाडिएको लिङ्गो नै डुब्छ भन्ने किम्बदन्ती छ तर अहिले भने तालमा कृत्रिम रुपमा पानी हालिएको छ ।

कार्तिक शुक्ल पुर्णिमा कार्तिक महिनामा परेमात्र जोग पर्ने र मन्दिरमा पुजा गर्ने चलन भएपनि यसवर्ष ७ गते पूर्णीमा परेका कारण महाजोग परेकाले अन्य वर्षको तुलनामा यसवर्ष भक्तजनको बाक्लो उपस्थिती रहेको थियो । धार्मिक एंव साँस्कृतिक महत्व बोकेको सत्यवती ताल क्षेत्रमा ३ दिन सम्म चलेको मेलामा १ लाख बढी झक्तजनले अवलोकन गरेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिले जनाएको छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको यो मेलालाई आगामी दिनमा प्रचार प्रसार गर्नुको साथै पूर्वाधारको निर्माण गरी यस क्षेत्रलाई प्रदेश नं. ५ को प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो ।

सत्यवती तालमा लागेको धार्मिक मेलामा बजैको दर्शन गरी भाकल गर्नका लागि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलबस्तु सहित छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आएका थिए । तानसेन वुटवल सडक खण्डको चौविस माईलबाट १ घण्टा ३० मिनेटको उकालो चढेपछि सत्यवती ताल, सत्यवती वजैको मन्दिरमा पुग्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *