नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

इजरेल–इरान तनाव: उद्धारका लागि विवरण सङ्कलन सुरु, यस्ताे छ सरकारकाे तयारी
काठमाडौं । युद्धको चपेटामा परेका इजरेल र इरानमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकार सक्रिय भएको छ । परराष्ट्र मन्त्रालय र इजरेलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण सङ्कलनका लागि अनलाइन आवेदन फारम सार्वजनिक गरेका छन् ।
सरकारले उद्धारको तयारी थालेको बेला बीबीसीसँग कुराकानी गरेका इरानस्थित नेपालीहरूले “उपयुक्त व्यवस्था भए तत्काल फर्कन तयार रहेको” बताएका छन् । इजरेलमा रहेका नेपालीहरूबीच भने फर्किने विषयमा फरक धारणा देखिएको छ । केही नेपालीहरूले तुरुन्तै नेपाल फर्कन चाहेको बताएका छन् भने केहीले अझै काममा बस्ने मनस्थितिमा रहेको जनाएका छन् ।
सरकारका अनुसार, इजरेलमा करिब ५ हजार ५ सय नेपाली कार्यरत छन् भने इरानमा १७ जना नेपाली रहेको जानकारी प्राप्त भएको छ । इजरेलले इरानमाथि आक्रमण गरेपछि दुवै देशबीच तनाव बढ्दै गएको छ । यस्तो परिस्थितिमा नेपालीहरूको सुरक्षाप्रति गम्भीर चासो व्यक्त भएको छ ।
इजरेलमा सन् २०२३ को अक्टोबर ७ मा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि क्षेत्रमा कार्यरत १० नेपाली विद्यार्थी हमासको आक्रमणमा मारिएका थिए भने एक विद्यार्थी विपिन जोशी अझै बेपत्ता छन् । यसपटक त्यस्तो घटना पुनः नहोस् भनेर सरकार अग्रसर भएको हो ।
मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको बैठकले उद्धारका लागि तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव जीवलाल भुसालका अनुसार, ती देशहरूमा रहेका नेपालीहरूको विवरण अद्यावधिक गरी आवश्यक परे तत्काल उद्धार गर्ने निर्णय भएको छ ।
उद्धारका लागि वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षाकोषले आवश्यक तयारी गर्ने जिम्मेवारी लिएका छन् । परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका नेपाली नागरिकहरूसँग सम्पर्क गरेर विवरण सङ्कलन गर्न सम्बन्धित नियोगहरूलाई खटाइसकेको जनाएको छ ।
इजरेलस्थित नेपाली दूतावासले बुधबार सूचना जारी गर्दै समस्यामा परेका वा त्रासमा रहेका नेपालीहरूलाई उद्धार तथा स्वदेश फिर्तीका लागि फारम भर्न आग्रह गरेको छ । फारमको लिंक दूतावासको सूचना तथा परराष्ट्र मन्त्रालयको वेबसाइटमा उपलब्ध छ ।
यसअघि आइतवार परराष्ट्र मन्त्रालयले इजरेल–इरानबीचको परिस्थितिलाई नजिकबाट नियालिरहेको र नेपाली नागरिकहरूको हित सुनिश्चित गर्न आवश्यक निर्णय लिइने जनाएको थियो । मन्त्रालयले सहयोग आवश्यक परे इजरेलस्थित नेपाली दूतावास र इरान हेर्ने कतारस्थित दूतावाससँग सम्पर्क गर्न आग्रह गर्दै सम्बन्धित कर्मचारीका मोबाइल नम्बर र इमेल ठेगाना सार्वजनिक गरिसकेको छ ।