काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामाखुसी करिडोरअन्तर्गत ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध पनि मुद्दा दायर भएको छ।

उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो। तर, कम रकम कबोल गर्ने उक्त कम्पनीलाई ठेक्का नदिई २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको कल्पवृक्ष कोहिनूर जेभीलाई ठेक्का दिइएको भन्दै उजुरी परेको थियो।

अख्तियारको अनुसन्धानले उक्त ठेक्का प्रक्रियामा ४ करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग भएको ठहर गरेको छ। सोही आधारमा अख्तियारले बुधबार परियारसहित सातै जनाविरुद्ध मुद्दा दायर गरेको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *