काठमाडौँमा कुष्ठ रोग उन्मुलन तथा भेदभाव विरुद्धको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा दुई दिने ‘कुष्ठ रोगको उन्मुलन तथा कुष्ठ प्रभावित व्यक्तिमाथिको भेदभाव विरुद्ध’ विषयक राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो।

उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले कुष्ठ रोगको उन्मुलन र कुष्ठ प्रभावित व्यक्तिहरूमाथि हुने भेदभाव अन्त्य गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयाे, “कुष्ठ निवारण गरेरै छोड्ने सरकारको दृढ संकल्प छ।” साथै उहाँले बिभेद विरुद्ध नागरिक तहबाट पनि भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सन् २०३० सम्ममा कुष्ठ रोगको पूर्ण निवारण गर्ने नेपालको लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै स्वास्थ्य सेवा सर्वसुलभ बनाउन मन्त्रालय गम्भीर रहेको बताउनुभयो।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले सम्मेलनको उद्देश्य र कुष्ठ रोगको वर्तमान अवस्था, चुनौती र रणनीतिक मार्गचित्रबारे जानकारी दिनुभयो।

सम्मेलनमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा, नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्व उपसभामुख पुष्पा भुसाल, डब्लुएचओ नेपालका प्रतिनिधि डा. राजेश सम्भाजिराओ, सासाकावा लेप्रोसी इनिसिएटिभका गुडविल एम्बासडर योही साकाकावा, आइडिया नेपालका अमर तिमिल्सिनालगायतले राजनीतिक प्रतिबद्धता सुदृढ गर्दै प्रभावित व्यक्तिहरूको सहयोग, सुधार र समावेशीकरणका लागि कार्य गर्ने प्रतिबद्धता जनाए।

नेपाल कानुन समाज, सासाकावा लेप्रोसी इनिसिएटिभ, विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाललगायत संस्थाहरूको सहकार्यमा आयोजित सम्मेलनमा करिब ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, विशेषज्ञ र सरोकारवालाहरू सहभागी छन्।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानका अनुसार सम्मेलनबाट कुष्ठ रोग उन्मुलनसम्बन्धी कार्ययोजना र संकल्पपत्र जारी गरिनेछ।

दुई दिने सम्मेलनमा प्रदेश र स्थानीय तहमा कुष्ठ रोग नियन्त्रणको गति बढाउने उपाय, असल अभ्यास तथा चुनौतीहरू, भेदभाव न्यूनीकरण, मानव अधिकार, कानुनी पक्ष तथा प्रभावित व्यक्तिहरूलाई राज्यबाट उपलब्ध गरिने सेवा–सुविधाबारे गहन छलफल हुने छ।

कुष्ठ रोगबारे जानकारी

कुष्ठ रोग छालामा फुस्रो दाग देखिने र समयमै उपचार नभए अपाङ्गता निम्त्याउने संक्रामक रोग हो। सजिलै निको हुने भए पनि यो रोगका बिरामी सामाजिक अपमानको शिकार बन्ने गरेका छन्।

नेपालमा वार्षिक झन्डै २८६७ नयाँ कुष्ठ रोगका बिरामी दर्ता हुने गरेका छन् भने हाल देशभर करिब २ लाख संक्रमित मध्ये ३० हजारजति अपाङ्गताको अवस्थामा रहेको अनुमान छ।

नेपालका १८ जिल्लामा प्रतिदश हजार जनसंख्यामा एकभन्दा बढी कुष्ठ रोगका बिरामी रहेका छन्। मधेश प्रदेशका सात जिल्ला उच्च जोखिममा रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम बिरामी छन्। सरकारले डब्लुएचओको सहयोगमा निःशुल्क औषधि वितरण गर्दै आएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *