बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सरकारलाई जनताको प्रश्न, ‘सडक गाडी गुडाउन बनाएको कि आन्दोलन गर्न ?’
रुषा थापा
काठमाडौंको सिफल र तीनकुनेस्थित खाली चौर छ । टुँडिखेलमा पनि खाली चौर छ । भक्तपुरको सल्लाघारी तीनकुनेस्थित समेत खाली चौर छ । शिक्षक आन्दोलनको आज १९ औं दिन भएको छ । आन्दोलनको नाममा शिक्षकहरुले माइतीघर–नयाँ बानेश्वर सडकखण्ड कब्जा गरेका छन् । जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन् ।
सडक कब्जा गरेर शिक्षकहरु सुत्दा, नाचगान गर्दा आम नागरिक भने अस्पताल जान समेत सकिरहेको अवस्था छैन । अहिले माइतीघरबाट कोटेश्वर आउनु परेमा हिँड्दै आउनुपर्ने अवस्था छ । किनकि शिक्षक आन्दोलनका कारण त्यहाँ सवारीसाधन चल्न पाएको छैन । उता, माइतीघर, थापाथली, त्रिपुरेश्वर, रत्नपार्कलगायत स्थान जानुपर्ने मानिसहरु पनि समस्यामा परेका छन् ।
कोटेश्वरदेखि हिँडेर जानुपरिरहेको छ । सडक जनताले तिरेको करबाट बनाइएको हो । सर्वसाधारणको घर भत्काएर सवारीसाधन चलाउनका निम्ति सरकारले सडक बनायो । गाडी गुड्न बनाइएको सडकमा आन्दोलनका नाममा शिक्षकहरुको रमिता चलेको छ । सडक कब्जा गरेर नाटक प्रदर्शन गर्ने काम भइरहेको छ । सरकार चाँहि मुकदर्शक भएर बसिरहेको छ ।
आन्दोलनका नाममा बाटो कब्जा गरेर सर्वसाधारणलाई अनाहकमा दुःख, हैरानी दिइँदा सरकार न माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा जारी गर्छ न खाली चौरमा आन्दोलन गर्न शिक्षकहरुलाई निर्देशन नै दिन्छ । शिक्षकसामु सरकार लम्पसार पर्दा त्यसको असर जनताले भोग्नुपरिरहेको छ । शिक्षकलाई हेर्ने दृष्टिकोणमा समेत जनताको नजर बदलिँदै गएको छ ।
शिक्षित भनिएकाहरु नै अनपढजस्तो व्यवहार गर्न थालेपछि शिक्षकहरुप्रति जनताको सम्मानमा गिरावट आएको छ । शिक्षक आन्दोलनका कारण अनाहकमा दुःख, हैरानी पाइरहेका नागरिक भन्छन्, ‘सडक हिँड्न, गाडी गुडाउन बनाइएको हो । रमिता देखाउन होइन । यति कुरा त शिक्षकहरुले पनि बुझ्नुपर्ने हो । तर, शिक्षित भनिएकाहरुको व्यवहार अनपढजस्तो छ । अनि यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता होलान् ।’
राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले सो आन्दोलनमा सहभागी नहुन सार्वजनिक सूचना नै निकाल्यो । यतिमात्र होइन, अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङहरुलाई सिंहदरबारबाटै समातियो । सरकारले राप्रपाको आन्दोलन देख्यो तर शिक्षकहरुले आन्दोलनका नाममा सडक कब्जा गरेर नागरिकलाई दुःख दिइरहँदा देख्दैन ।
शिक्षकहरु राजनीतिक दलका कार्यकर्ता हुन् । काँग्रेस, एमाले, माओवादीका झोले । अनि आफ्ना कार्यकर्ताले सडक कब्जा गरेर रमिता देखाउँदासमेत दलहरु मौन छन् । सरकार टुलुटुलु हेरेर बसिरहेको छ । यहाँ सरकारकै दोहोरो चरित्र छ । एउटा आन्दोलनलाई दबाउन खोज्ने, अर्को आन्दोलनलाई चाँहि प्रोत्साहन गर्ने ।
शिक्षकहरुले जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । पोशाक पनि सर्वसाधारणकै करबाट किनिएको लगाउँछन् । अनि जनताकै छोराछोरी पढाउन छोडेर उनीहरु सडकमा रमिता देखाइरहेका छन् । अब सरकारले तत्काल माइतीघर–नयाँ बानेश्वर सडकखण्ड खाली गराउनुपर्छ । गृह मन्त्रालयले नसके रक्षा मन्त्रालयले सेना खटाएर भएपनि सडक खाली गर्नुपर्छ ।
किनकि आन्दोलनका नाममा सडक कब्जा गर्ने, नागरिकलाई दुःख, हैरानी दिने अधिकारी कोहीसँग छैन । शिक्षक आन्दोलनको यत्रो दिन भइसक्यो । यस अवधिमा लाखौं लाख सर्वसाधारणले कयौं दुःख, हैरानी भोगिसके । काठमाडौं देशको राजधानी हो । आन्दोलन गर्ने ठाउँ होइन । राजधानीजस्तो क्षेत्रमा सडक कब्जा गरेर शिक्षकहरु रमिता देखाउनु कति उचित हो ? तैपनि सरकार नजरअन्दाज गरिरहेको छ ।
अब सरकारले तत्काल कदम नचाल्ने हो भने जनता आफैं शिक्षकहरुको प्रतिरोधमा उत्रिने छन् । शिक्षकहरुप्रति जनताको आक्रोश दिनप्रति दिन बढिरहेको छ । उनीहरु भन्छन्, ‘पढाउन मन लाग्दैन, अनि सडकमा रमिता देखायो । यस्ता शिक्षकहरुको त नियुक्तिपत्र खारेज गरिनुपर्छ ।’ हुन त अहिलेका शिक्षकहरुको योग्यता विद्यार्थीको नतिजाबाटै छर्लंग हुन्छ । हरेक वर्ष कक्षा आठ र एसईईको नतिजामा सरकारी तथा सामुदायिक विद्यालय पछाडि पर्ने गरेका छन् ।
सरकारी विद्यालयको गुणस्तर खस्ँिकदै गएको छ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको शैक्षिक अवस्था कहालीलाग्दो छ । विद्यालय गएपनि नगएजस्तो देखिन्छ । किनकि पढाउने शिक्षक कक्षा कोठामा कम दलको कार्यक्रममा बढी सहभागी हुन्छन् । सरकारी विद्यालयमा जाँदा कक्षा कोठामा शिक्षक भेट्न मुस्किल पर्छ । त्यो पनि विशेष गरी दुर्गम, ग्रामीण क्षेत्रमा । शहरी इलाकामा पनि विद्यार्थी पढाउन छोडेर शिक्षकहरु दलको कार्यक्रममा सहभागी भएको देखिने गरिन्छ ।
निजी विद्यालयमा मासिक दशदेखि १५ हजार रुपैयाँ तलबमा शिक्षकहरु विद्यार्थी पढाउँछन् । विद्यार्थीको नतिजा राम्रो आउँछ । निजीमा फेल हुने विद्यार्थी सायदै भेटिन्छन् । तर, सरकारी विद्यालयका शिक्षकहरु मासिक ३० हजारदेखि ७० हजार रुपैयाँसम्म तलब खाएरसमेत पढाउँदैनन् । सरकारी विद्यालयकै विद्यार्थीहरु बढी फेल हुने गरेका छन् । अहिले सेवासुविधा बढाउनुपर्ने माग गर्दै सडकमा ओर्लिएका शिक्षकहरुलाई जनता सोध्छन्, ‘के तपाईंहरुले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने किन विद्यार्थी अझै फेल भइरहेका छन् ?’
शिक्षकहरुले जनताको छोराछोरीको भविष्यमाथि खेलबाड गरिरहेका छन् । सेवासुविधाका निम्ति लाखौं लाख बालबालिकाको भविष्य अन्धकारमा पार्ने काम गरिरहेका छन् । यस्तो हुँदा स्थानीय सरकारहरु भने धमाधम शिक्षकहरुको तलब खातामा हाल्दिरहेको छ । शिक्षकहरुले विद्यार्थी पढाइरहेका छन् र स्थानीय सरकारले खातामा तलब हालिदिन ?
अब देशभरका स्थानीय तहहरुले शिक्षकको तलब रोक्नुपर्छ । विद्यालय नफर्किए तलब निकासा नगर्ने बताउनुपर्छ । तैपनि शिक्षकहरु नफर्किए नियुक्तिपत्र खारेज गरी नयाँ शिक्षक भर्ति प्रक्रिया अघि बढाउनुपर्छ । शिक्षा निकै संवेदनशील क्षेत्रमा पर्छ । यो राजनीति गर्ने क्षेत्र होइन । विडम्बना, अहिले शिक्षा क्षेत्रमा राजनीति भइरहेको छ ।
आफ्नो फाइदाका निम्ति शिक्षक महासंघले देशभरका शिक्षकलाई जबरजस्ती आन्दोलनमा ल्याएको छ । एउटा शिक्षकबाट पदअनुसार महासंघले मासिक एक हजारदेखि तीन हजार रपैयाँसम्म लेबी उठाउने गर्छ । र, त्यही पैसाबाट महासंघले आन्दोलन गरिरहेको छ । अब सरकारले महासंघका प्रतिनिधिहरुलाई कारबाही गर्नुपर्छ ।
किनकि शिक्षा क्षेत्रमा राजनीति गर्ने अधिकार कसैसँग छैन । अहिले शिक्षकहरु बाटोमै हाजिर गरिरहेका छन् । उनीहरुले विद्यार्थी पढाएका छन् र हाजिर गर्न ? फेरि त्यो हाजिरी कपी विद्यालयको हो । कानूनमा सरकारी कागजात बाहिर लैजान नपाउने भनिएको छ । अनि शिक्षकहरुले हाजिरी कपी नै चोरेर ल्याई सडकमा हाजिर गरिरहँदा सरकार के हेरिरहेको छ ? स्थानीय सरकार किन मौन छ ?
हुन त शिक्षकहरु पनि भ्रष्टाचारीमा पहिलो नम्बरमै पर्छन् । विद्यार्थीका लागि आएका स्टेशनरी सामग्री लगेर बेचिदिन्छन् । विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गर्छन् । २० जना विद्यार्थी भएमा ५० जनाको लिस्ट बनाएर सरकारबाट बढी रकम असुल्छन् । साथै, विद्यालयको भौतिक निर्माणका लागि आएको बजेटमा समेत भ्रष्टाचार गर्छन् । शिक्षकहरुका कारण सरकारी विद्यालय बदनाम बन्दै गएको छ ।
जनताका छोराछोरीको भविष्यमाथि असर परिरहेको छ । त्यसैले, अब सरकार तात्न आवश्यक भइसक्यो । सरकारले कदम चाल्न अझै ढिला गर्ने हो भने जनता आफैं कारबाहीमा उत्रिने छन् । सरकारलाई कर तिर्ने छैनन् अनि सडकमा ओर्लिने छन् शिक्षकहरुको विरोधमा ।
राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले शिक्षकहरुलाई थप हौसाएका छन् । जनताको पक्षमा लेख्नुपर्नेमा भ्रष्टाचारी शिक्षकहरुको गुनगान गाएको भन्दै जनता दैनिक पत्रपत्रिकासँग समेत आक्रोश भएका छन् । उनीहरु भन्छन्, ‘शिक्षकका कारण हामीले पाएको दुःख, हैरानी पत्रपत्रिकाले देखेनन् । विद्यार्थीहरुको भविष्य अन्धकारमा परेको समेत देखेनन् । तर, शिक्षकहरुको माग चाँहि देखे । त्यसैले, अब हामी पनि दैनिक पत्रपत्रिका किन्दैनौं, हेर्दैनौं ।‘