धामीझाँक्री र माताको नाममा मौलायो ठगीधन्दा

अनुसा थापा
भक्तपुरको सिर्जनानगर चोकमा एउटा दरबारजस्तो भवन छ । ठूलो जग्गामा बनेको सो भवन देख्दा धेरैलाई यो कसको हो ? भन्ने लाग्न सक्छ । कोहीकोही त्यो भवन ठूलो व्यापारीको हो भन्ठान्छन् । तर, त्यसो होइन् । त्यो भवन भगवानको नाममा ठगीधन्दा चलाइरहेको एक माताको हो ।

त्यो माताको काम नै भक्तजनलाई ठग्ने हो । उनको त्यहाँ मात्र होइन्, अन्य थुप्रै स्थानमा जग्गा भएको भक्तपुरका स्थानीय बताउँछन् । उनले भक्तजनको सम्पत्ति खाइदिने गरेकी छिन् । माताको नाममा ठग्न बसेकी ती महिलाको घर सूर्यविनायक नगरपालिका वडा नम्बर ५, सुशिल भैरवस्थानअगाडि हो ।

उनको माइत पनि गुण्डुको किवाचोक हो । सम्पत्तिको नामोनिशान नभएकी उनले माताको ढोंग रचेर धेरै सम्पत्ति जोडिन् । धेरै ठाउँमा दरबारजस्तो महल ठड्याइन् । स्थानीयले भनेअनुसार तीन दशकअघि उनको होटल थियो । उनको श्रीमान् साइकलको टायर टाल्थें । सर्वसाधारण काम गर्न विभिन्न मुलुक पुगिरहेका छन् ।

अब्बल पढाइ भएकाहरु अमेरिका, अष्ट्रेलियालगायतको विकसित मुलुक पुगिरहेका छन् भने कोही काम गर्न जापान, कोरिया । तर, ठग्न जान्नेलाई यहीँ अमेरिका, अष्ट्रेलिया रहेछ । न उनीहरुलाई पढाइ चाहियो न लगानी । आफूलाई माता भन्छन्, लुटछन् । भगवानप्रति विश्वासको नाममा अन्धविश्वास गरिरहेको कुरा सर्वसाधारणले बुझ्दैनन् ।

सिर्जनानगर भक्तपुरमा पर्छ । भक्तपुर काठमाडौं उपत्यकाभित्र पर्ने एउटा जिल्ला हो । तर, उपत्यकाका पढेलेखेकाहरु शनिबार र बुधबार माताको दरबारमा उपस्थित हुन्छन् । हरियो टीका लगाएर नाँचगान गर्छन् । अक्षर नै नचिनेको व्यक्तिले कसरी पढेलेखेकोलाई ठगिरहेकी छिन् ? त्यसको दृष्टान्त हो यो ।

अक्षर चिन्दैमा शिक्षित होइदैन् भन्ने उदाहरण पनि हो यो । भक्ति गर्ने भन्दै भक्तजनले त्यहाँ मोटो रकम बुझाउँछन् । त्यतिमात्र नभएर उनीहरुले त्यहाँ फलफूलहरु पनि चढाउँछन् । मातालाई फलफूल चढाउनुको साटो आफैंले खाएको भए शरीरमा कति तागत लाग्थ्यो ? पैसा पनि राखेको भए आवश्यक परेको बेला काम लाग्थ्यो ।

हरेक साताको दुई दिन सर्वसाधारणले आफ्नो समय खेर फाल्छन्, माताको दर्शन गर्ने नाममा । त्यो समयमा कुनै सामाजिक कामकाज नै गरेको भए, पुरै समाजलाई फाइदा हुने थियो । आफ्नो व्यक्तिगत काम नै गरेको भए हुन्थ्यो । तर, नेपालीको सोच त्यति ठूलो छैन् । सामाजिक काम गर्नुपर्ने भने दाँतबाट पसिना निकाल्ने नेपालीहरु माताको नाममा फोगट्टे घण्टौं खेर गएको देख्दैनन् ।

माताका लागि भक्तजनले आफ्नो सम्पत्ति पनि सकाए, समय पनि खेर फाले । अन्धाधुन्ध भक्तजनका कारण ती माता आज खर्बौंको मालिक भइन् । जसलाई छाक टार्न धौं धौं थियो, उसलाई आफ्नो सम्पत्तिले पोसेर सर्वसाधारणले कहाँ पुर्याइदिए । रोचक प्रसंगचाँहि के भने माता पछाडि लाग्दा धेरैले आफ्नो सम्पत्ति स्वाहा पारेका छन् ।

सरकार भन्छ,‘जनता शिक्षित भइसके ।’ कहाँबाट शिक्षित भए ? सरकारले किताब पढायो होला तर व्यवहारिक ज्ञान दिन सकेन् । जसका कारण लुटिने जनताको संख्या बढ्दै गएको छ । जनतासँग सही र गलतबीचको ज्ञान नै छैन् । के गर्न हुन्छ ? के गर्न हुँदैन् ? भन्ने उनीहरुलाई थाहा छैन् ।

विडम्बना, सरकारले जनतालाई व्यवहारिक ज्ञान दिन सकेन् । धर्मको नाममा पर्दाभित्र बसेर ठगिरहेकाहरुबाट जनतालाई जोगाउन सरकार चुकेको छ । मुलुकमा सयौं अस्पताल खुलेको छ । अस्पताल केका लागि ? उपचारका लागि होइन् ? ठूल्ठूला रोगहरु उपचार गर्न सम्भव छ । तर, यस्ता कथित माताहरुले म ठीक पारिदिन्छु भन्दै उनीहरुलाई ठग्छन् ।

सर्वसाधारण पनि भ्रममा पर्छन्, उनीहरुको ज्यान नै जान्छ । यस्ता धेरै घटना छ । स्वास्थ्य पार्ने नाममा बिरामीलाई मरणासन्न हुनेगरी हिर्काउँछन् । बिरामीले आफ्नो त्यही प्राण त्याग्छन् । एक्काइसौं शताव्दीमा पनि नेपाली समाज अन्धविश्वासको जञ्जालमा फसेको छ भने योभन्दा विडम्बनापूर्ण विषय के होला ?

विभिन्न प्रलोभन देखाएर ठगी गर्न बसेकाहरुलाई सरकारले किन कारबाही नगरेको ? सरकार के हेरेर बसिरहेको छ ? माताले विदेश पठाउन सक्छन् ? माता, धामीझाँक्रीले उपचार गर्न उनीहरुलाई चिकित्सक आयोगले दिएको लाइसेन्स छ ? सरकार अझैपनि टुलुटुलु रमिता हेरेर बसेको छ ।

त्यस्ता ठगहरुको ठगीधन्दा बन्द गर्न सरकार कुनै एक्सन नै लिँदैन् । सिर्जनानगरमा मात्र होइन्, यस्ता कथित माताहरु ठाउँठाउँमा छन् । उपत्यकाभित्र र बाहिर नै सीधासाधी जनतालाई ‘मुर्गा’ बनाइएको छ । एउटा डेरा भाडामा लिने अनि खुलेआम ठगीधन्दा चलाउने । ठग्नका लागि यो सबैभन्दा सजिलो माध्यम बनेको छ ।

किन कि सरकारले कारबाही नै गर्दैन् । लिटिल बुद्धको नामले परिचित रामबहादुर बम्जनकै कुरा गरौं । उनको आश्रमभित्र के चल्दो रहेछ ? भन्ने त छर्लङ्ग भइसकेको छ । लाखौंलाई ठगेर उनले काठमाडौंको बुढानिलकण्ठमा दरबारजस्तो घर बनाएका थिए । उनको घरबाट ठूलो परिमाणमा रकम पनि बरामद भएको थियो ।

माता, गुरुहरु यस्ता हुन्छन् ? माता र गुरुको नाममा ठग्नेहरुलाई कारबाही गर्ने आँट गृह मन्त्रालयसँग छैन् । यिनीहरुको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । समाजमा विकृति फैलाउने, भ्रम छर्ने, उपचारको नाममा मान्छेको ज्यान लिने, घरखेत नै उडाइदिने, पारिवारिक सम्बन्ध बिगारिदिनेको अगाडि सरकार नै निरीह भएपछि ठग्नेको मनोबल बढ्नु स्वाभाविकै हो ।

ठग्न जान्नेलाई बिना पूँजी र बिना लगानी कमाउने यहाँ ठूलो स्रोत छ । गफाडी र भ्रम छर्नेहरुलाई यहाँ अवसर नै अवसर छ । बोलेकै भरमा उनीहरु खर्बौंको मालिक बन्छन् । राजनीतिक दलहरु झुठ्ठा आश्वासन दिएकै भरमा त्यहाँ पुगेका हुन् । राजनीतिक दल र माताहरुको पेशा उस्ताउस्तै छ ।

१८ वर्ष नपुगेका बालबालिका नाबालक हुन्छन् । उनीहरु सही र गलतबीचको भिन्नता छुट्याउन सक्दैनन् । माताको घरमा बुधबार र शनिबार ससाना बालबालिकालाई हरियो टीका लगाएर ल्याइएको हुन्छ । सानैदेखि उनीहरुलाई अन्धविश्वासको बाटो हिँड्न सिकाइएको छ भने राज्य कहाँ छ ?

स्कुल नलगिकन आफ्ना सन्तानलाई त्यहाँ ल्याउने अभिभावक कस्ता हुन् ? उनीहरुको सोचाइ कति गिरेको हो ? आफू जुन बाटोमा हिँडिरहेको छ, बालबालिकालाई पनि त्यहीँ बाटो हिँड्न तालिम दिइरहेका छन्, अभिभावक । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाको घर माताको घरभन्दा केही माथि छ ।

आधा किलोमिटरको फरक छ । यता, सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन पनि माताको दरबारबाट नजिकै छ । तर, माताले चलाइरहेको ठगीधन्दा न सांसदले देख्छन् न जनप्रतिनिधिले । सिडियो कार्यालय कता छ ? भन्ने नै कसैलाई थाहा छैन् । नियामक निकायले आँखा चिम्लिदा मातालाई आफ्नो लुटको धन्दा चलाउन झनै सहज भएको छ ।

अर्कोतर्फ कुनैपनि नागरिकमाथि अभिभावकभन्दा राज्यको बढी हकअधिकार हुन्छ । नागरिक भइसकेपछि उसले राज्यको ऐनकानुन पालना गर्नुपर्छ । राज्यको नागरिकलाई जन्मिन नपाईकन हरियो टीका लगा, स्कुल नै नगईकन माताको दर्शन गर्न जाँ भन्न मिल्छ ? यो देशमा जो पनि ठग्ने मात्रै भए । कोही माताको नाममा ठग्छन्, कोही झाँक्रीको नाममा ।

कोही चिना बनाउने भन्दै लुट्छन् । बाटोमा बसेर हात हेर्ने भन्दै ठग्नेहरु पनि यत्तिकै छन् । केही नजानेहरु बोलेकै भरमा सीधासाधी जनता लुटिरहेका छन् । सरकारको यसतर्फ ध्यान जान निकै आवश्यक भइसकेको छ । सरकारले अब त्यस्ता ठगहरुलाई झयापझ्यापी समात्नुपर्छ, यस्ता संस्थालाई दिएको अनुमति खारेज गर्नुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *