हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
वातावरणमैत्री कृषि प्रवर्द्धनका लागि विनयी त्रिवेणी गाउँपालिकाले थाल्याे नयाँ पहल
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले वातावरणमैत्री कृषि प्रवर्द्धनका लागि नयाँ पहल गरेको छ। गाउँपालिकाले वनका पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो।
यसरी उत्पादन गरिएकाे मल मल किसानहरूलाई सस्तो मूल्यमा उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए।
‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरेर जैविक मल उत्पादन सुरु गरिएको हो। विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको यस उद्योगले अहिले मल उत्पादन गरी बिक्री गर्न थालेको छ। अध्यक्ष गिरीका अनुसार, यो वर्ष २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ।
सुरुमा सामुदायिक वनको पहलमा सुरु भएको यो अभियानलाई गाउँपालिकाले गत वर्षदेखि पूर्ण रूपमा स्वामित्व लिँदै उद्योगका रूपमा अगाडि बढाएको हो। मलको गुणस्तर सुनिश्चित गर्न विज्ञहरूको सहयोगमा माटो र मलसम्बन्धी अनुसन्धानसमेत गरिएको छ।
गाउँपालिकाभित्र रहेका ४१ सामुदायिक वन, दुई धार्मिक वन र दुई मध्यवर्ती वनलाई क्रमशः यो उद्योगसँग जोड्ने योजना रहेको छ। उत्पादन प्रक्रियामा वनबाट सङ्कलन गरिएको स्याउला तथा घाँस पातलाई मल बनाउन ९० दिन लाग्छ। यसका लागि विनयी सामुदायिक वनका ८० जना उपभोक्ता सक्रिय रूपमा कार्यरत छन्।
उद्योगबाट उत्पादन गरिएको मल गाउँपालिकाभित्र किसानहरूलाई प्रतिकेजी २० रुपैयाँ र बाहिरका किसानहरूलाई प्रतिकेजी २५ रुपैयाँमा उपलब्ध गराउन थालिएको छ।
गाउँपालिकाको यो प्रयासले जैविक मल उत्पादन बढाउन मात्र नभई वन संरक्षण र किसानहरूको उत्पादन लागत घटाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।