हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरु
लेखनाथ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका अभियुक्तको मुद्दाको थुनछेक बहस न्यायाधीश नीतिज राईको इजलासमा जारी रहेको जानकारी स्रेस्तेदार राजन खनालले दिनुभयो। लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्।
लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङ, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई, नेचर हर्बस् इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, पूर्व उपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध कास्की जिल्ला अदालतमा बयान पूरा भइसकेको छ। उनीहरूको विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका आरोपमा पुस ७ गते मुद्दा दायर भएको थियो।
स्रेस्तेदार खनालका अनुसार, “आज प्रतिवादी आरती गुरुङको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ।” सूर्यदर्शन सहकारीको रकम अवैधानिक रूपमा गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ। अभियुक्तहरूको तर्फबाट तीन दर्जन कानून व्यवसायीहरूले वकालतनामा लिएका छन्।
लामिछानेलाई सहकारी ठगीको आरोपमा दुईदेखि १५ वर्षसम्मको जेल सजाय र बिगोको दोब्बर जरिवाना, सम्पत्ति शुद्धीकरणमा चारदेखि १५ वर्षसम्मको जेल सजाय र सङ्गठित अपराधमा थप ५० प्रतिशत सजाय लाग्नुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ।
सहकारी ठगीमा सामूहिक बिगो एक करोड ६२ लाख ६५ हजार र व्यक्तिगत बिगो एक करोड ७५ लाख रुपैयाँ रहेको जानकारी दिइएको छ। यसका साथै सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ।