राष्ट्रपतिविरुद्ध दोस्रो महाभियोगमा मतदानअघि दक्षिण कोरियामा दुवै पक्षको प्रदर्शन

दक्षिण काेरिया । राष्ट्रपति यून सुक यउलविरुद्ध दोस्रो पटक दर्ता भएको महाभियोगमा मतदान सुरु हुनुअघि दक्षिण कोरियाको संसद् बाहिर सयौँ प्रदर्शनकारीहरू भेला भएका छन्।

आफ्नो सत्ता टिकाउन प्रयास गरिरहेका राष्ट्रपति यूनको समर्थनमा पनि राजधानी सोलको एउटा क्षेत्रमा प्रदर्शन भएको छ।

एघार दिन अघि दक्षिण कोरियामा सैनिक शासन लगाउने निर्णयपछि राष्ट्रपति यूनलाई पदबाट हटाउनुपर्ने माग बढेको छ। विपक्षी दलबाट महाभियोगको प्रक्रियासँगै उनको राजीनामा माग गर्दै प्रदर्शनहरू पनि भइरहेका छन्। उनले घोषणा गरेको ‘मार्शल ल’ अर्थात् सैनिक शासन संसद्‌ले मतदानबाट अस्वीकृत गरेपछि छ घण्टामै फिर्ता भएको थियो।

यसअघि यूनविरूद्ध दर्ता भएको महाभियोगको पक्षमा न्याश्नल असेम्ब्लीमा भएको मतदानमा दुई तिहाइ बहुमत पुगेको थिएन।

महाभियोग प्रस्तावमा दोस्रो पटक मतदान सुरु हुनुअघि सत्ताधारी पीपल्स पावर पार्टीका एक जना सांसद आफ्नो दलका अन्य सांसदहरूलाई पनि महाभियोगको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्। एक जना सांसद यस्तो आग्रह गरिएको साइन बोर्ड बोकेर संसद् भवन अगाडी बसेका थिए।

गतसाता भएको मतदान सत्ताधारी दलका सांसदहरूले बहिस्कार गरेका थिए। विपक्षी डेमोक्र्याटिक पार्टीले अघि सारेको महाभियोग प्रस्ताव पारित हुन २०० मत आवश्यक थियो। तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका तीन जना सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेको विवरण आएका थिए।

विपक्षी सांसदहरूले यून पदबाट नहटेसम्म हरेक शनिवार महाभियोगमा मतदान हुने गरि प्रक्रिया अघि बढाइने बताएका छन्।

महाभियोग पारित हुन कति सहज

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन संसद् ‘न्याश्नल असेम्ब्ली’ को दुईतिहाइ मत आवश्यक पर्छ। अहिलेको समीकरणका हेर्दा सत्ताधारी दलका कम्तीमा आठ सांसदले विपक्षीलाई साथ दिनुपर्छ।

सत्तारूढ दलका केही सांसदले महाभियोगमा समर्थन जनाउने सङ्केत गरिसकेका छन्। तर महाभियोगको पक्षमा खुलेका सांसदहरूको पर्याप्त सङ्ख्या अझै पुगिसकेको छैन।

महाभियोगमा समर्थन जनाउने सङ्केत गरेका सत्ताधारी सांसद किम सङ-वूकले आफूलाई मार्ने धम्की आएको यसअघि बताएका थिए।

राष्ट्रपति यूनको दलभित्रबाट पनि उनको राजीनामा माग हुँदै आएको छ।

मून पक्षधरको पनि प्रदर्शन

सैन्य शासन घोषणा गर्ने आफ्नो कदमका लागि यूनले क्षमायाचना गरेका छन्।

राष्ट्रपति यून र उनका सहयोगीहरूमाथि अहिले देशद्रोह गरेको आशङ्कामा अनुसन्धान भइरहेको छ। उक्त कसुरमा मृत्युदण्ड सम्मको सजाय हुने कानुनी व्यवस्था छ। उनी सहित कैयौँ पदाधिकारीहरूमाथि यात्रामा प्रतिबन्ध समेत लगाइएको छ।

ग्वाङ्ग्वामुनमा यूनको समर्थनमा निस्किएको र्‍यालीमा सहभागीले महाभियोग प्रस्ताव विफल बनाउन र विपक्षी नेतालाई पक्राउ गर्न माग गरिरहेका छन्।

उनीहरूले आपराधिक अभियोग सहित कैयौँ मुद्दाको सामना गरिरहेका विपक्षी नेता ली जे-म्यङलाई पक्राउ गर्न माग गरिएका साइन बोर्डहरू बोकेका छन्।

राष्ट्रपति मूनको समर्थनमा प्रदर्शन गरिरहेकाहरूले अमेरिकी झन्डा समेत बोकेका छन्। उनीहरूले आफूलाई अमेरिका समर्थक र विपक्षी डेमोक्र्याटिक पार्टीलाई उत्तर कोरियाप्रति सहानुभूति राख्ने शक्ति भएको दाबी गर्ने गरेका छन्।

महाभियोगको इतिहास

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको इतिहास छ। सन् २०१६ मा आफ्ना एक साथीलाई पैसा असुली गर्न सघाएको आरोप लागेपछि तात्कालिक राष्ट्रपति पार्क चङ यीविरुद्ध महाभियोग लागेको थियो।

त्यहाँ महाभियोग लगाउने प्रक्रिया निकै स्पष्ट छ।

महाभियोग पारित भएपछि संवैधानिक अदालतमा सुनुवाइ हुन्छ। उक्त अदालतमा नौ सदस्य हुन्छ र तिनले दक्षिण कोरिया सरकारका निकायहरूलाई हेर्छन्।

राष्ट्रपतिलाई पदमुक्त गर्न अदालतका नौमध्ये छ सदस्य एकमत हुनुपर्छ।

सन् २०१६ मा २३४ सांसदले महाभियोगको प्रस्तावमा राष्ट्रपति पार्कविरुद्ध मत दिएका थिए।

सन् २००४ मा पनि तात्कालिक राष्ट्रपति रोह मू-ह्युनलाई पनि महाभियोग लागेको थियो। उनलाई दुई महिना निलम्बन गरियो। संवैधानिक अदातलले पछि उनलाई फेरि पदमा फर्काएको थियो। बीबीसीबाट 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *