गृहकार्य नगरेकाे भन्दै विद्यार्थीलाई ५ सय पटक उठबस

नवलपुर । नवलपुरकाे  देवचुली नगरपालिका प्रगतिनगरस्थित नवल बोर्डिङ स्कूलकी एक शिक्षिकाले गृहकार्य नगरेकाे भन्दै  पाँच जना विद्यार्थीहरूलार्इ चरम यातना दिएकी छिन् ।  अंग्रेजी विषय पढाउने शिक्षिका विद्या चापागाईले कक्षा ४ मा अध्ययनरत ५ जना विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै पाँच सय पटक उठबस गराएकी हुन् । १२ वर्षीय कुशल रानाभाटसहित रोहित खत्री, सुसान्त अर्याल, अंशुमन श्रेष्ठ र प्रिन्स बसेललाई कारवाही स्वरुप उठवस गराएको विद्यालयका प्रिन्सिपल किरण भट्टराईले जानकारी दिनुभयाे।

यातना पाएका विद्यार्थीहरुमध्ये कुशल रानाभाट बढी पीडित भएको पाइएको छ । उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका चिकित्सक त्रिभुवन भण्डारीका अनुसार शिक्षिकाको सजायबाट रानाभाटको साप्रामा पुरै निल डाम रहेको, र मांशपेशी थिलथिलिएको छ ।

शिक्षिकाले विद्यार्थीहरुलाई गत कार्तिक १८ गते उक्त कारवाही गरेको भएपनि विद्यालय खुलेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनापछि लगत्तै तिहार विदाका कारण विद्यालय बन्द भएकोले पनि घटना बाहिर आउन नसकेको पीडित बालकका दाजु केशव रानाभाटले बताउनुभयाे ।

वालवालिकाहरूमाथि भएकाे उक्त घटनाप्रति बालअधिकार अभियन्ताहरूले खेद ब्यक्त गरेका छन् । बालअधिकार अभियन्ता खिमानन्द भुसालले भन्नुभयाे, ‘शिक्षकको काम दण्डहिन ढंगवाट पढाउने हो बच्चालाई तर्साएर दण्ड दिएर पढाउने होइन , दण्ड गर्नु दण्डनीय हो,दण्ड गर्नेलाई सजाय हुनुपर्छ । ‘

बालमैत्री नगरपालिका घोषणा भएको दुर्इ महिना नबित्दै विद्यार्थीहरूमाथि यसरी यातना दिनु निन्दनीय भएकाे अधिकारकर्मीहरूले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *