साफ महिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलङ्काविरूद्ध शानदार जीत

काठमाडौँ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गर्नुभयो । सविता रानामगर, सावित्रा भण्डारी (साम्बा), अमिषा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गर्नुभयो ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेलभर रक्षात्मक रणनिति बनाएको श्रीलङ्काले गथोल गर्न लायक अवसर बनाउन सकेन ।

तीन खेलबाट सात अङ्क बनाएको नेपाल समूह विजेता र समान सात अङ्क बनाएको भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

बिहीबार नै भएको यही समूहको अर्को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हराएको थियो ।नेपालले भुटानलाई गोल अन्तरका आधारमा पछि पारेको हो ।

यस समूहबाट माल्दिभ्स र श्रीलङ्का बाहिरिए । सेमिफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा साविक विजेता बङ्गलादेश र भुटानबिच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल आइतबार हुनेछ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *