काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
बाढीपहिरो लगायत विपद्बाट दुई महीनामा २११ जनाको मृत्यु
काठमाडाैं । मनसुन भित्रिएयता दुई महीनाको अवधिमा बाढीपहिरो लगायत विपद्बाट २११ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोमा परी ४८ जना हराइरहेका छन्। यस अवधिमा १४३ जना घाइते भएका छन्।
गत जेठ २८ गते मनसुन भित्रिएको थियो। त्यसयता दुई महीनामा मनसुनसँग सम्बन्धित घटनामा १७० जनाको मृत्यु भएको छ। त्यस्तै, आगलागी, सर्पदंश, लेक लागेर तथा जंगली जनावरको आक्रमण लगायतबाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए।
सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशमा भएको छ। कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात र बागमती प्रदेशमा ५८ जनाको मृत्यु भएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
यस अवधिमा एक हजार ३३३ घटना भएका छन्। जसमा तीन हजार ६४७ परिवार प्रभावित छन्। सबैभन्दा धेरै ४०५ वटा विपद्का घटना भएको कोशीमा एक हजार २१२ परिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ।
यस्तै, मधेशमा ५१३, बागमतीमा ४७१, गण्डकीमा ४३७, लुम्बिनीमा ३२६, कर्णालीमा २४० र सुदूरपश्चिममा ४४८ परिवार प्रभावित छन्। अहिलेसम्म कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एक जना हराइरहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष धेरै मानवीय क्षति भएको छ। गत वर्ष मनसुनमा विपद्का कारण ७२ जनाको मृत्यु भएको थियो।