विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

काठमाडौँ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल जनजाति महासङ्घले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाइँदै आइएको छ । नेपालका आदिवासीले पनि जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्न यस दिवसलाई अवसरका रुपमा मनाउँदै आएका छन् ।

३०औँ विश्व आदिवासी दिवसका अवसरमा महासङ्घले यस वर्ष विभिन्न जातीय संस्थासहित आ-आफनो मौलिक साँस्कृतिक नृत्य, झाँकी, कलाकृति र जातीय भेषभूषासहित सप्ताव्यापी कार्यक्रम आयोजना हुँदैछ । महासङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यस दिवसका अवसरमा यहि साउन २० गतेदेखि २७ गतेसम्म विभिन जातीय संघसंस्थासहित आयोजना गरिने कार्यक्रमबारे जानकारी दिएको हो ।

यस वर्ष ‘संविधान प्रदत्तअधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’, भन्ने मूल नारा सहित यो दिवस मनाइदैछ ।

महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले संविधानप्रदत्त आदिवासीको हक कार्यान्वयनका लागि जातीय सङ्गठनले एकजुट भएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आदिवासीको मुद्धालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा बहस पैरवी गर्ने समेत यो दिवस महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

“यस दिवसले आदिवासीको मौलिक ज्ञान सीप, प्रथाजनित भूमि, थातथलोको संरक्षण एवम् प्रवद्र्धन र जैविक विविधता एवम् प्राकृतिक स्रोतको संरक्षण गर्न विशेष पहल गर्नेछ”, अध्यक्ष शेर्पाले भन्नुभयो, “राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा बहस पैरवी गर्ने समेत महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाइँदै आएका छौ ।”

महासङ्घका महासचिव दिवस राईले केन्द्रीय तहको कार्यक्रमबारे जानकारी दिनुभयो । साउन २५ गते देशभरका आदिवासी जनजातिका मातृभाषा, लोक भाकामा बनेका गीत, साँस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी र विभिन्न जातीय भेषभुषासहित राजधानीका विभिन्न भागमा परिक्रमा गरिनेछ । काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनीमार्गदेखि प्रज्ञाभवन कमलादीसम्म आदिवासी जनजातिहरुको भव्य प्रस्तुतिलाई प्रतिविम्वित गरिने महासङ्घले जनाएको छ ।

यस्तै, साँस्कृतिक झाँकीसहितको र्‍याली विहान ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ ।

केन्द्रीय तहमा महासङ्घ, नेपाल मगर सङ्घ, किरात राई यायोख्खा, नेपाल छन्त्याल सङ्घ, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, आदिवासी जनजाति अपाङ्ग सङ्घ, आदिवासी जनजाति आयोग, आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) र इन्डिजिनियस टेलिभिजनले विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

विश्व आदिवासी दिवसका अवसरमा नै एक्सन इन्टरटेन्मेन्ट काठमाडौँ नेपालद्वारा मिस मङ्गोल नेपाल प्रतियोगिता समेत आयोजना हुँदैछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *