मुकुलकाे मुखमा कालाे टेप, विराेधकाे ‘झाँक्री स्टाइल’

काठमाडाैं । रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा महामन्त्री डा. मुकुल ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्।

रास्वपा केन्द्रीय कार्यालय, बालाजुमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ढकालले मुखमा कालो टेप लगाएका हुन्। महामन्त्री ढकालले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए।

सभापति लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति जनाएनन्। बैठकको प्रत्यक्ष प्रसारण नगरेको विरोधमा मुखमा कालो टेप लगाएको उनले बताएका छन्।

तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड माकुने खेमाले प्रदर्शनी मार्गमा आयोजना गरेको बिरोध सभामा नेतृ रामकुमारी झाँक्रीले मुखमा टेप टाँसेर बिरोध जनाएकी थिइन् । उनले मन्तव्य राख्ने क्रममा बडो फिल्मी शैलीमा टेप र ज्याकेट फुकालेर दर्शकदीर्घामा फालेकी थिइन् । अहिले त्यही सिको गर्दै मुकुलले पनि मुखमा टेप टाँसेका हुन् ।

यसअघि उनले देशका ३९ जिल्ला घुमेर रास्वपाको अवस्थाबारे प्रतिवेदन तयार गरेका थिए। उनले सभापति लामिछानेलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा रास्वपाको जनाधार खस्किंदै गएको उल्लेख छ।

अहिलेकै जस्तो अवस्था रहेमा आगामी चुनावमा रास्वपालाई साख जोगाउनै मुश्किल हुने प्रतिवेदनमा औंल्याएका छन्। उनको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

यसअघि रास्वपाले ढकालसँग स्पष्टीकरण पनि मागेको थियो। पार्टीमा छलफल नहुँदै प्रतिवेदन बाहिर ल्याएर पार्टी अनुशासन उल्लंघन गरेको आरोप उनलाई लगाइएको थियो।

घाँटीका नसा पनि फुलिने गरी चर्को स्वरमा बोल्ने रविले पार्टीको बैठक प्रत्यक्ष प्रसारण गर्न नमानेपछि मुकुलले मुख टालेका हुन् । यसैत सहकारी ठगी, प्रतिस्पर्धीमाथि साँधेको राजनीतिक प्रतिसोधको आरोप सँगै विकसित पछिल्लो राजनीतिक कोर्षले अप्ठ्यारोमा परेका रविलाई ढकालले पार्टीको अवस्था ठीक नभएको भन्दै घुक्र्याइरहेका छन् ।

केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने जनाइएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ सरकार बनाउने सहमति गरेपछि रास्वपा सचिवालय बैठकले त्यसमा सामेल नहुने निर्णय गरेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *