बहालवाला मुख्यसचिव अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याल सहित ११ जना र एक कम्पनी विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। सञ्चार मन्त्रालयको सचिव हुँदा अर्यालले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेकाे अख्तियारको दाबी छ । बहालवाला मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको यो पहिलो पटक हो।

यस प्रकरणमा सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्र पौडेललाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे र तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ।

यसै गरी स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र सञ्चालक केशव शर्मा विरुद्ध पनि मुद्दा दायर गरिएको छ।

स्टिकर खरीदमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ। प्रतिवादी बनाइएका ११ जना र प्रिन्टसेलबाट जनही ६ करोड ८४ लाख ४५ हजार ६०० रुपैयाँ असुल उपर गर्न अख्तियारले मागदाबी गरेको छ।

सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्का २०७९ मंसीर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो। केन्द्र र प्रिन्टसेलबीच प्रतिस्टिकर ८९ पैसाका दरले ४३ करोड ३२ वटा स्टिकर ३८ करोड ५५ लाख ४८ हजार रुपैयाँमा छाप्ने सम्झौता भएको थियो।

यसअघि प्रतिस्टिकर २५ पैसामा छापिँदै आएको थियो। त्यसको तीन गुणाभन्दा बढी रकममा ठेक्का सम्झौता गर्दा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *