प्रतिनिधि सभाको बैठक अवरुद्ध

काठमाडाैं। सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेस लगायत विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै कांग्रेस लगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले सांसदहरूलाई आआफ्नो स्थानमा बसेर सहयोग गर्न पटक पटक आग्रह गरेका थिए।

विपक्षी सांसदले भने आफ्नो माग सुनुवाइ नहुँदासम्म विरोध यथावत् रहने जनाएका थिए। उनीहरूले आआफ्नो स्थानबाट उभिएर विरोध जारी राखेपछि सभामुख घिमिरेले शुक्रबारको बैठक स्थगन गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्नेछ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको जनाउँदै कांग्रेसले संसदीय छानबिन हुनुपर्ने माग गरेको छ। संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र विपक्षी दल सहमत पनि भइसकेका छन्।

यसका लागि गठन गरिएको कार्यदलमा भने सहमति जुट्न सकेको छैन। संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्दा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने कांग्रेसको अडान छ भने व्यक्तिविशेषको नाम राख्न नहुने सत्तापक्षको भनाइ छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *