गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ खुवाउनुभयो । मुख्यमन्त्री अधिकारीले आइतबार मात्रै प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ र आर्थिक मामिला मन्त्रीमा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानलाई नियुक्त गर्नुभएको थियो ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री अधिकारी, सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । प्रदेश सरकारमा सात वटा मन्त्रालय रहेकामा मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी छ ।

गण्डकी प्रदेशसभामा सभामुखबाट भएको कार्यप्रति कांग्रेसद्वारा असहमति

नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीेले विश्वासको मत लिने क्रममा गतिबिधिप्रति असहमति जनाएको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभएकामा कांग्रेसले विरोध जनाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त कार्य संविधान विपरित भएको जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *