सिमेन्टको बाँधले चपरक्कै सुक्यो ताल

बाग्‍लुङ । बाग्‍लुङको काठेखोला गाउँपालिका-४, तंग्रामस्थित खोर तालमा पाँच वर्षअघिसम्म भरिभराउ पानी थियो। तालको बीचमा बाह्रै महीना पानी रहन्थ्यो। तर ताल संरक्षणका नाममा जथाभावी सिमेन्टको बाँध बनाएपछि अहिले ताल सुकेको छ।

तंग्राम गाउँको शिरमा रहेको खोर ताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले कंक्रिटको बाँध बनाएको थियो। त्यसपछि ताल पानीविहीन भएको स्थानीय गंगाबहादुर किसानले बताए। गाउँलेले ताललाई परम्परागत रूपमा संरक्षण गर्दै आएका थिए। सिमेन्टको बाँध बनाएपछि भने ताल सुकेको उनले बताए।

धार्मिक महत्त्वसँग जोडिएको यो तालमा पहिले स्थानीयले पूजाआजा समेत गर्थे। तर एकाएक ताल सुक्न थालेपछि स्थानीय अचम्मित बनेको उनले बताए।

“यहाँ पानीको ठूलो ताल थियो, गाउँले यहीं पानी भर्ने गर्थे। पहिले पहिले भैंसीराँगा डुबेपछि कोही पनि तालभित्र पस्दैनथे, तर अहिले तालमा धूलो उड्छ। किन यस्तो भयो, हामी निकै अचम्मित भएका छौं। हिउँदमा अलिअलि पानी घट्थ्यो, तर यस्तो सुक्खा कहिल्यै पनि परेको थिएन,” किसानले भने, “यो ताल निकै सुन्दर थियो, पानी सफा हुन्थ्यो, हामी सानो हुँदा पानी भरेर खान्थ्यौं, हावाले पात ल्याएर खसाले पनि चराले सफा गर्थ्यो, अहिले त धुलाम्मे बनेको छ, यहाँ पालिकाबाट योजना पर्‍यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पूरै सुकेर सकियो।”

स्थानीय दिलमाया किसानले पनि ताल सुकेपछि वरपर खानेपानीको समस्या बढेको बताइन्। आफू यो ठाउँमा आएको २५ वर्ष भएको सुनाउँदै यत्तिका समयसम्म खानेपानी अभाव नभएको उनको भनाइ थियो। उनले भनिन्, “यस्तो त कहिल्यै भएको थिएन, म यहाँ आएको पनि साढे दुई दशक बित्यो, तालमा पानी सुकेको कहिल्यै थिएन, अहिले तालमा एक थोपा पनि पानी छैन।”

काठेखोला गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण पुनले भने जलवायु परिवर्तनका कारण ताल सुकेको हुन सक्ने बताए। यो तालसँगै गाउँमा भएका थुप्रै पानीका मुहान सुकेको उनको भनाइ थियो।

ताल सुन्दर र पर्यटकीय सम्भावनायुक्त रहेको हुँदा गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेर संरक्षण गरेको उनले बताए। “यो धेरै वर्ष पुरानो ताल हो, पर्यटकीय हिसाबले यसको प्रचारप्रसार, संरक्षण र सौन्दर्यीकरण गर्न जरुरी थियो, सोही अनुसार बजेट व्यवस्थापन गरेर काम गरेका थियौं। तर अहिले तालमा पानी नै सुक्यो,” अध्यक्ष पुनले भने, “तालसँगै अन्य ठाउँमा भएको खानेपानीको मुहान समेत सुकेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष असर यहाँ परेको देखियो।” -रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *