इलामा २ मा रास्वपाले जाेगाउन सकेन जमानत, लिम्बूसहित १६ उम्मेदवारको धरौटी जफत

काठमाडाैं । प्रतिनिधि सभा सदस्यको लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका सहित स्वतन्त्र उम्मेदवार समेत १६ जनाको धरौटी जफत भएको हो।

चुनावी प्रचारमा पार्टी सभापतिसहित केन्द्रका नेताहरूले अलि बढ्तै हल्ला खल्ला गरेकाे  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लिम्बूले अप्रत्यासित हार व्यहाेरेका छन् । उनले चुनावी चटक अनुसारकाे मत पाउन सकेनन् । तनहुँ र चितवनमा भएकाे उपनिर्वाचनपछि  घण्टी पार्टीकाे चुरिफुरि बढेकोबढ्यै थियो । इलाममा पनि चर्कै स्वरमा घण्टी बजाउने भनेकामा बज्न सकेन, मत परिणामले घण्टीकाे रालाे हराइदिएकाे छ ।

कानून अनुसार ल्याउनु पर्ने न्यूनतम मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ७१ मा कुल सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारको धरौटी फिर्ता नहुने व्यवस्था छ।

उपनिर्वाचनमा कुल ६८ हजार ४७२ मत सदर भएको थियो। सदर मतको १० प्रतिशत (६ हजार ८४७ मत) ल्याउन नसेकका उम्मेदवारले राखेका जनही रु १० हजार जफत भएको हो।

वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले पाँच हजार ५०, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८ मत प्राप्त गरे। त्यस्तै नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, जनमत पार्टीका प्रेमबहादुर थाम्सुहाङले ११८ भोट ल्याए।

२७ हजार ७७२ मत पाएका नेकपा (एमाले)का सुहाङ नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *