उपनिर्वाचन अपडेट : दुवै क्षेत्रमा एमालेको अग्रता, कसको कति मत?

काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनका दुवै क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन्।

निर्वाचन आयोगका अनुसार, आइतबार राति ८ बजेसम्मको मतगणनामा इलाम २ मा एमालेका सुहाङ नेम्वाङ र बझाङ १ ‘क’मा दमनबहादुर भण्डारीले अग्रता लिएका हुन्। इलाममा सुहाङले तीन हजार २४९ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काले दुई हजार ४६९ मत पाएका छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको ७०३ मत छ भने ४३४ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू चौथो स्थानमा छन्।

इलाममा ६ हजार ९६४ मत गणना भएको छ। यो क्षेत्रमा ६९ हजार २८७ मत खसेको हो।

त्यस्तै, बझाङमा एमालेका दमनबहादुर भण्डारीले दुई हजार ६३८ मत पाएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहको एक हजार ९६४ मत छ।

तेस्रो नम्बरमा रहेका नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले एक हजार ६८९ मत पाएका छन् भने चौथो नम्बरमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहको ९७४ मत छ।

बझाङमा सात हजार ४०२ मत गणना भएको छ। यो क्षेत्रमा ३० हजार ३२८ मत खसेको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *