नेपाल आयरल्यान्ड वुल्भ्ससँग ११४ रनले पराजित

काठमाडाैं । एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोली आयरल्यान्ड वुल्भ्ससँग ११४ रनले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १६.५ ओभरमा ६० रनमै समेटिएको हो। नेपालका लागि भीम सार्कीले १७ र विनोद भण्डारीले १६ रन बनाए।

अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। त्यस्तै, पाँच खेलाडी त शून्यमा आउट भए।

आयरल्यान्डका लागि म्याथ्यु हम्फेयर्सले ६ विकेट लिए। उनले ४.५ ओभरमा एक मेडन राखेर आठ रन मात्रै खर्चिए। त्यस्तै, फिन ह्यान्ड र थोमस म्यायसले दुई-दुई विकेट लिए।

यसअघि ब्याटिङ गरेको आयरल्यान्डले ३८.४ ओभरमा १७४ रन बनाएको थियो। आयरल्यान्डका लागि गभिन होएले अर्धशतक बनाए। उनले ५९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, नेल रकले ४५, लिम म्याकर्थीले ३५ र पेटर मूरले १७ रन बनाए।

नेपालका लागि रिजन ढकाल र शहाब आलमले तीन-तीन तथा मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए।

एकदिवसीय शृंखलाको पहिलो खेलमा पनि नेपाल २१ रनले पराजित भएको थियो। आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै समेटिएको थियो।

यो शृङ्खलाको अन्तिम खेल आइतबार हुनेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *