एमडीएमएस खरिद प्रकरण : प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

विदेशबाट मोबाइल आयात गर्दा राजस्व छली भइरहेको भन्दै रोक्नका लागि प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) खरीद गरेको थियो। एमडीएमएस खरीदमा ९१ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

एमडीएमएस खरीद गर्दा बदनियतपूर्ण ढंगले अस्वाभाविक बढी काम/लागत देखाएको, लागत अनुमान र बोलपत्र स्वीकृत नगराएको, मनासिब कारण विना लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाई बढी सामान खरीद गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। त्यस्तै, गलत लिखत तयार गरेको, सरकारी कागजात लुकाएको तथा नष्ट गरिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।

एमडीएमएस खरीदमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा हिनामिना भएको पाइएको छ। त्यसैले भ्रष्टाचारमा संलग्न १९ जना र दुई कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोगपत्रमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल, निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दीपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशकहरू रेवतीराम पन्थ, सन्‍दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशकहरू विजयकुमार राय यादव, प्रतीक्षा पौडेल र निराजन कोइरालालाई विपक्षी बनाइएको छ। उनीहरूबाट २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ ९४ पैसा बिगो असुल गर्न माग गरिएको छ।

त्यस्तै, मलेशियाको न्यूमेरा कम्पनी र ग्रूप चेयरमेन मोहद नूर अमिन बिनी मोहद नूर खान, कम्पनीमा कार्यरत मोहम्मद शैहाब बिन कुनही मोहमेद, चिप अपरेटिङ अफिसर अन्जु सिंह एक्स, प्रोडक्ट स्पेसियलिस्ट जामील अहमेद विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। न्यूमेरा कम्पनीको पार्टनर कम्पनी सिंगापुरको नमस्ते ग्लोबल कमका निर्देशक कवीन्द्रराज मल्ललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूबाट पनि २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ ९४ पैसा बिगो दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *