आईपीएल : हैदरावादसँग मुम्बइ पराजित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई पराजित गरेकाे छ । राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनको ठूलो अन्तरले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य दिएको थियो । यो आईपीएलको इतिहासमा अहिलेसम्मकै ठूलो स्कोर हो । यो ठूलो लक्ष्यको जवाफमा मुम्बईको टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन मात्रै बनाउन सकेको थियो । मुम्बईका लागि तिलक वर्माले सर्वाधिक रन बनाए । वर्माले ३४ बलमा ६ छक्का र दुई चौकाको मद्दतले अर्धशतक प्रहार गर्दै ६४ रन बनाए ।

वर्माका अलावा कप्तान हार्दिक पाण्ड्याले २० बलमा २४ रनको इनिङ खेले भने टिम डेभिडले २२ बलमा ४२ रनको अविजित इनिङ खेले । दुवैले पाँचौं विकेटका लागि ४२ रनको साझेदारी गरे। तर टोलीलाई जित दिलाउन सकेनन् । यसबाहेक ओपनर इशान किशनले १३ बलमा चार छक्का र तीन चौकाको मद्दतले ३४ रन, नमन धीरले १४ बलमा ३० रन र रोहित शर्माले १२ बलमा २६ रनको योगदान दिए।

सनराइजर्स हैदरावादका लागि कप्तान प्याट कमिन्स र जयदेव उनाडले २ विकेट लिए भने शाहबाज अहमदले १ विकेट लिए । यसअघि ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्माको विस्फोटक ब्याटिङको मद्दतमा हैदरावादले २० ओभरमा तीन विकेट गुमाएर २७७ रन बनाएको थियो ।

हेडले २४ बलमा तीन छक्का र ९ चौकाको मद्दतले ६२ रन बनाए । शर्माले २३ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६३ रनको इनिङ खेले । यी दुई बाहेक विकेटकिपर हेनरिक क्लासेनले ३४ बलमा चार चौका र सात छक्का प्रहार गर्दै अविजित ८० रन बनाए । एडेन मार्करामले २८ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित ४२ रनको योगदान दिए । दुवैले चौथो विकेटका लागि शतकीय साझेदारी गरे । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्या, जेराल्ड कोएट्जी र पियुष चावलाले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *