गृहमन्त्रीको नियुक्तिबारे संसद्‌मा प्रधानमन्त्रीसँग कांग्रेसले माग्याे जवाफ

काठमाडाैं । गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तिका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेसले प्रधानमन्त्री दाहालको जवाफ माग गरेको हो। बैठक शुरू हुने बित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्न समय दिएका थिए। बैठकमा बोल्दै सांसद पौडेलले प्रधानमन्त्री प्रश्नबाट भागेर हिंडिरहेको भन्दै असन्तुष्टि जनाए।

गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरेर प्रधानमन्त्री दाहालले दोहोरो मापदण्ड अपनाएको उनको भनाइ थियो। “प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनुहुँदैनथ्यो,” पौडेलले भने।

देशभरका सहकारीपीडितले सहकारी सञ्चालकको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता गर्न माग गरिरहेको उनले स्मरण गराए। गृहमन्त्री लामिछानेमाथि पनि सहकारीको रकम हिनामिनाको विषयमा छानबिन भइरहेकाले यस विषयमा प्रधानमन्त्री दाहालले संसद्‌मा जवाफ दिनुपर्ने कांग्रेसको भनाइ थियो।

सांसद पौडेलले प्रश्न गरे, “अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारीपीडितको माग कसरी पूरा हुन्छ? जसको अनुसन्धान गर्नुपर्ने हो, त्यही व्यक्तिलाई तालाचाबी दिएर अनुसन्धान कसरी हुन्छ?”

सुन तस्करी प्रकरणमा प्रहरीले राजनीतिक व्यक्तिलाई जोगाएको गृहमन्त्री लामिछानेले नै स्वीकार गरेको पौडेलले स्मरण गराए। यस्तो अवस्थामा गृहमन्त्री लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने उनको भनाइ थियो।

यस विषयमा प्रधानमन्त्री दाहालले जवाफ दिनुपर्ने उनको भनाइ थियो। “प्रश्नको घेरामा रहेको व्यक्तिलाई सरकारमा नलैजाने नजीर स्थापित गरौं,” पौडेलले भने, “प्रधानमन्त्रीले जवाफ नदिएसम्म प्रश्न उठाइरहनेछौं।”

त्यसपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र सरकारले पनि यसमा जवाफ दिने विश्वास जनाए। बिहीबार पनि कांग्रेस सांसदले संसद्‌मा प्रश्न उठाएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *