नेपाल प्रहरीमा भर्ती खुल्याे, १०८ जना इन्सपेक्टरसहित ७ हजारलाई अबसर

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा भर्ना आह्वान गरेको हो ।

महाशाखाले प्रकाशित गरेको सुचनाअनुसार प्रहरी निरीक्षक १०८ जना, सहायक निरीक्षक ५२४ जना माग गरिएको छ । जवानका लागि मात्रै ६ हजार २ सय ४४ जनाको दरखास्त आव्हान गरिएको हो ।

प्रहरीमा अन्य कामका लागि पनि ठूलो संख्यामा जनशक्ति मागिएको छ । जसमा भान्सेका लागि ३२० जना, हजामका लागि १५ जना, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जनाको दरखास्त माग गरिएको छ ।

त्यस्तै प्रहरीले ३० जना खेलाडीको पदका लागि पनि दरखास्त आव्हान गरेको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ ।

दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *