काठमाडौं महानगरले २६४ ठाउँमा बस बिसौनी बनाउने, यातायात प्रणाली सुधार पहिलो प्राथमिकतामा 

काठमाडौं । बालेन साहले नेतृत्व गरिरहेको काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । २९औँ महानगर दिवस २०८०का अवसरमा बुधबार महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महानगरले योजना सार्वजनिक गरेको हो ।

महानगरले यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्ने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने योजना अघि सारेको छ ।

योसँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको तयारी छ ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले संघीय राजधानी रहेको सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी दिँदै सम्बद्ध कार्यालयसँग सहकार्य अगाडि बढाइएको बताए । उनले अहिले ससाना सुधारका काम गर्दा प्रणालीमा सुधार गरौं भन्दै काठमाडौँमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रुपमा रोक लगाइने बताए ।

ट्राफिक प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन सकिए सवारी चाप कम गर्न सकिने बताउँदै पोखरेलले यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको धारणा राखे ।

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्हहरु आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नु पर्ने भएकाले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ छ । प्रणाली सुधार गर्न धेरै काम गर्नु पर्ने र यो वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *