शीतल निवास र बालुवाटार पनि निषेधित क्षेत्र

काठमाडाैं । सरकारले राष्ट्रपति कार्यालय रहेको शीतल निवास र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास वरिपरी विरोध प्रदर्शन गर्न निषेध गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, तोकिएको निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार, शितलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भएर धर्ना, घेराउ लगायतका कार्यक्रम गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड भएर शान्ति, सुरक्षा भंग हुनसक्ने तर्क गर्दै प्रशासनले यो आदेश जारी गरेको हो ।

हिजो मात्रै सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण भेला समेत गर्न नपाउने आदेश जारी गरेको थियो।

आजै जिल्ला प्रशासन कार्यालय ललितपुरले ६ महीनाका लागि ललितपुरका विभिन्न क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाउने आदेश जारी गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *