बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

“काठमाडौँको जमिनमुनि महाभूकम्पको शक्ति थुप्रिएको छ”
काठमाडौं। नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ। सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ। यो पुरानो र नयाँ शक्ति हो।
भूगर्भविद्हरूको दाबी छ- शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते। त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तीन वर्षयता पश्चिम नेपालका विभिन्न भूकम्पको निरन्तरको धक्का बढ्न थालेको हो। गत असोज १६ गते बझाङमा एकै दिन गएका ६.३ र ५.३ म्याग्निच्युडको भूकम्पपछि लगातारजसो नै त्यो क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। जसको कम्पन काठमाडौँसम्म राम्रै महसुस गरिएको थियो । त्यसअघि वैशाखमा बाजुरामा यही आसपासको भूकम्प गएको थियो।
शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पको धक्काले काठमाडौँ पनि हल्लिएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए। रातको समयमा भूकम्प गएकाले पनि जाजरकोट र रुकुममा बढी जनधनको क्षति पुगेको उनले बताए। भूकम्पले भौगर्भिकस्तरमा पारेको असरबारे अध्ययन गर्न अधिकारीसहितको टोली जाजरकोट पुगेको छ। अध्ययनपछि मात्र पृथ्वीको गर्भभित्रका प्लेट एकआपसमा कति धसिए भन्ने पत्ता लाग्ने उनले बताए।
भूकम्प अनुगमनमा व्यस्त भूकम्पविद् सञ्जय कुशवाहका अनुसार शनिबार बिहानसम्म चार म्याग्निच्युड र त्यसभन्दा माथिका चार वटा परकम्प गए। त्यसभन्दा साना खालका १६० वटा भन्दा बढी परकम्प महसुस गरिए। बझाङ भूकम्पका मात्र पाँच सयभन्दा बढी परकम्प महसुस गरिएका थिए।
केन्द्रका अनुसार लामो समयदेखि सञ्चित आठ म्याग्निच्युडमाथिको महाभूकम्पको शक्ति पश्चिम नेपालको जमिनमुनि सञ्चित छ। त्यो बाहिरिन आठ म्याग्निच्युड बराबरको भूकम्प एकैचोटि जानु पर्छ। पछिल्लो समय गइरहेका साढे छ म्याग्निच्युड बराबरका भूकम्पले महाभूकम्पको शक्तिको एक छेउ पनि बाहिर निस्कँदैन किनभने आठ म्याग्निच्युडको भूकम्पको शक्ति सञ्चित छ भने सात रेक्टरका ३२ वटा भूकम्प जानु पर्छ। त्यस्तै छ म्याग्निच्युडको जाने हो भने एक हजार २४ वटा भूकम्प गएमा बल्ल एउटा आठ म्याग्निच्युडको महाभूकम्पको शक्ति बाहिरिन्छ।
अझ कम पाँच म्याग्निच्युडको भूकम्पमार्फत त्यो सकिने हो भने ३२ हजार वटा भूकम्प आउनु पर्छ। जति कम म्याग्निच्युडको भूकम्प जान्छ, त्यति गुणा धेरै भूकम्पको सङ्ख्या बढेर जानु पर्छ तर ती भूकम्प परकम्पका रूपमा नभई भूकम्पकै रूपमा जानुपर्ने हुन्छ।
गोरखापत्र दैनिकको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार, नेपालको पश्चिमी भूगर्भमा पाँच सय वर्षदेखि त्यो शक्ति जमिनमुनि बसिरहेकाले पनि खतरा बढेको छ। अहिलेका भूकम्पले दरार पैदा नगराएको र शक्ति नबाहिरिएका कारण अबको केही दिनभित्र नै पश्चिम नेपालमा अर्को मध्यम खालको भूकम्प जाने सम्भावना रहेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्। त्यसैले सावधानी अपनाउन जरुरी रहेको उनको सुझाव छ।