समृद्धि र सभ्यताको आधार पर्यटनः अध्यक्ष प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।

“धेरै ठूलो मेहनत र सङ्घर्षपछि हामी राजनीतिक स्थिरताको वातावरणमा आइपुगेका छौँ । जनताको धेरै ठूलो अपेक्षा छ, स्थिर र शक्तिशाली सरकार बनिसकेपछि छिटोछिटो र राम्रो काम जनताको पक्षमा परिणाम देखिने गरी होस् भन्ने अपेक्षा छ, हुँदैन कि भनेर चिन्ता पनि व्यक्त हुने गरेका छन्, जनताका गुनासा कहाँनेर व्यक्त भएका छन् भनेर सरकार र पार्टी गम्भीर भएर समीक्षा गर्दै आगामी काम कारवाहीलाई परिणाममुखी हुने गरी अघि बढ्छौँ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले अबको दशकसम्म आर्थिक क्रान्तिको स्वर्णिम युग रहेको तर, गलत संस्कार तथा नेतृत्वको कमजोरीले जनतामा निराशा आउने हो कि भन्ने चिन्ता पनि बढेको उल्लेख गर्दै त्यसलाई समृद्धिको आशामा परिणत गर्न ठूला लक्ष्य राखेर सङ्कल्पका साथ सबै एकताबद्ध भएर लाग्नुको विकल्प छैन भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले अहिले मुलुकमा ठूला राजनीतिक परिवर्तनहरू संस्थागतको क्रममा रहेको तर पञ्चायतकालीन ऐन, नियम र कानूनले काम कारवाहीलाई अवरोध गरिरहेको प्रसङ्ग उल्लेख गर्दै ऐन कानून संशोधन र व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको समग्र आर्थिक समृद्धि र सभ्यताको विकास गर्ने महत्वपूर्ण आधार पर्यटन क्षेत्र नै भएकाले होटलपछि सबैभन्दा धेरै लगानी भएको पर्यटक यातायात सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नीतिगत प्रोत्साहन तथा विशेष सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *