निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गर्नुभएको छ  । उहाँले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गर्नुभएको हो ।

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहनुभएका चन्दले थाल्नुभएको बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि रू पाँच करोड लगानी भइसकेको चन्दले बताउनुभयो । उहाँका अनुसार फार्ममा हाल एक सय ५० उन्नत जातका बाख्रा छन् ।

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिनुभयो । सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत फार्ममा रहेको उहाँले बताउनुभयो । उक्त बोकाको तौल एक सय ८० किलो छ ।

चन्दले भन्नुभयो, “पाँच÷छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।” उहाँले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थियो ।

“बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिए”, चन्दले भन्नुभयो, “अहिले सिरोही, तोतापरीलगायत पाँच÷छ उन्नत जातका गरी एक सय ५० बाख्रा छन् ।”

कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएका चन्दले छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उहाँका अनुसार बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो, “यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ ।”

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताउनुभयो । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उहाँको भनाइ थियो ।

“गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ”, चन्दले भन्नुभयो । बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना रहेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नुपर्नमा उहाँले जोड दिनुभयो ।

बुवाबाजेको आठसय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताउनुभयो । “नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ, उहाँले भन्नुभयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *