नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुन तस्करीको छानबिन गर्न अनुसन्धान टोली गठन
काठमाडाैं । राजस्व अनुसन्धान विभागले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिएको छ। ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान टोली गठन गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ। यसमा पाँच जनालाई अनुसन्धान अधिकृत तोकिएको छ।
“विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकृतहरू तोकिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेकाहरूले बयानमार्फत थप कसैको नाम पोल्ने र अनुसन्धान गर्दा थप प्रमाण फेला पार्न सकिन्छ कि भनेर अबको अनुसन्धान त्यतातर्फ केन्द्रित भएको छ,” विभागका सूचना अधिकारी नवराज अधिकारीले भने।
यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृत तोकिएको अधिकारीले बताए। पाँच सदस्यीय अनुसन्धान अधिकृतको समूहले बरामद गरिएको सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनेछ। ऐनले विभागका महानिर्देशक आफैं रहन सक्ने वा महानिर्देशकको निर्देशनमा काम गर्ने गरी अनुसन्धान अधिकृत तोकिन सक्ने व्यवस्था गरेको छ।
राजस्व चुहावटसँग सम्बन्धित प्रमाण सङ्कलन गर्दा कसूरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकतानुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा मालवस्तु आफ्नो कब्जामा लिनेलगायतका अधिकारसहित अनुसन्धान टोलीलाई लिइएको छ।
रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो। विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको जनाएको छ।
त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सीसीटीभीका फुटेज र सुरक्षा जाँचपासका क्रममा लिइएका एक्स–रे मेसिनका इमेज थप अनुसन्धानका विभागले नियन्त्रणमा लिइसकेको छ।
साउन ३ गते साँझ बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र तौल तथा गुणस्तर परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र ब्यांकअन्तर्गतको टक्सार महाशाखाले जनाएको छ। (रासस)