संविधान दिवस राष्ट्रिय दिवसका रुपमा मनाइँदै

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान दिवस भव्यरुपमा मनाइने तयारी भइरहेको बताउनुभएको छ ।

आगामी असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन गठित मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको मन्त्रालयमा आज आयोजित बैठकलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले संविधान दिवसलाई सरकारले यस वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउन लागेको जानकारी दिनुभयो ।

प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहनुभएका मन्त्री बाँस्कोटाले एउटा संविधानसभा असफल भएपछि दोस्रो संविधानसभाबाट जारी भएको संविधान कसैले सिँत्तैमा किस्तीमा राखेर दान नदिएको स्पष्ट पार्नुभयो । “यही संविधानका कारण जनताका छोराछोरी सरकार प्रमुख र राष्ट्र प्रमुख हुन पाएका छन् ”, उहाँले भन्नुभयो । नेपालको इतिहासमा उक्त दिन गौरवपूर्ण दिन भएको बताउँदै उहाँले नेपाली जनता सार्वभौमसत्तासम्पन्न भएको दिनलाई भव्यरुपमा मनाउन सबैलाई आग्रह गर्नुभयो ।

बैठकले सञ्चारमाध्यमबाट संविधानको महत्वका विषयमा तयार पारिएका वृत्तचित्र प्रसारण गर्ने, दूरसञ्चार प्रदायकले असोज ३ गते एसएमएसबाट संविधान दिवसको शुभकामना दिने, दूरसञ्चार प्रदायकलाई दूरसञ्चार शुल्कमा विशेष छुट दिने कार्यक्रम ल्याउन दूरसञ्चार प्राधिकरणले व्यवस्था मिलाउने, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट मूल कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, संविधानको विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवादलगायत जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी संविधानका बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेखरचनाको सँगालो प्रकाशन गर्ने, रेडियो नेपालबाट जागरण गीत सम्मेलन गर्ने र दीपावली गर्ने निर्णय भएको छ । बैठकमा मन्त्रालयका उच्च अधिकारीसहित राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, नेपाल टेलिभजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *