‘एक घर, एक धारा’ कार्यक्रमले फेरियो दैनिकी

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु हर्रेका ४८ वर्षीया गाजली सुनारलाई पहिले–पहिले एक गाग्रो पानी ल्याउन घण्टौँ धाउनुपथ्र्यो । पानी ल्याउनकै लागि उहाँ सोरपानी, दारेगौडा लगायतका स्थानमा पुग्ने गर्नुहुन्थ्यो । जाँदा बित्तिकै पालो पाइए कम्तीमा आधादेखि एक घण्टा समय खर्चनुपथ्र्यो । तर अहिले घरमै खानेपानीको धारा आएको छ । जसले गर्दा गाजलीको दैनिकी फेरिएको छ ।

“बिहानभरि पानीकै लागि समय खर्चनुपथ्र्यो, समय धेरै, पानी कम हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले घरमै पानी आउँदा निकै सहज भएको छ ।” गत वैशाख १ गतेदेखि उहाँको घरमा बिहान ६ देखि ९ बजेसम्म दैनिक तीन घण्टा नियमित पानी आइरहेको छ ।

वस्तुकै मखमली सुनारलाई पनि अहिले पानीकै लागि समय खर्चनुपर्ने बाध्यता छैन । घरमै पानी आएपछि पिउनका साथै खाना पकाउन, भाडा माझ्न, नुहाउन, कपडा धुन, गाई बाख्रालाई दिन एवम् तरकारी लगाउन समेत सहज भएको सुनारको भनाइ छ । “खोलाको पानी घरमा आउला भन्ने लागेको पनि थिएन”, उहाँले भन्नुभयो, “पानी आएसँगै आधाभन्दा धेरै काम घटेको छ ।”

घरमा पानी आएसँगै घर गृहिणीमात्र होइन, विद्यार्थीलाई पनि सहज भएको छ । पानीकै लागि घण्टौँ समय खर्चिएका विद्यार्थीले अहिले नियमित पढ्न पाएका छन् । “पानी लिन जाँदा समयमा विद्यालय पुग्न सकिएको थिएन, राम्रोसँग पढ्न पनि पाइएको थिएन ।” हिमालय माविमा कक्षा ६ मा पढ्ने छात्रा निशा विकले भन्नुभयो, “अहिले पढाइमा धेरै राहत मिलेकोे छ ।” घरमै पानी आएसँगै अहिले विद्यालय पोसाकसमेत घरमै धुन पाएको विकको भनाइ छ ।

वस्तुमा ‘वस्तु लिफ्टिङ खानेपानी आयोजना (चिलिखोला, बिसानैना, पात्ला, हर्रे) सम्पन्न भएसँगै एक सय आठ घरमा खानेपानीको धारा पुगेको छ । “विद्यार्थी समयमै विद्यालय पुगेका छन्, गृहिणीको समय बचत भएको छ”, खानेपानी योजनाका उपभोक्ता समिति सह–सचिव चुरामणि घर्तीले भन्नुभयो, “घरमै पानीको धारा पुगेसँगै स्थानीयको दैनिकी फेरिएको छ ।”

उक्त योजना सम्पन्न गर्नका लागि धुर्कोट गाउँपालिकाको आठ लाख, प्रदेश तथा सङ्घबाट ८६ लाख ४९ हजार ६ सय २४ र उपभोक्ताको सात लाख नौ हजार गरी जम्मा एक करोड एक लाख ५९ हजार तीन सय २४ खर्च भएको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।

अहिले वस्तुमा मात्रै पाँच सय ३३ घरमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै घरमा खानेपानीको धारा पुर्याउने गरी विभिन्न आयोजना सञ्चालन गरेको छ । “अहिलेसम्म पालिकाभरिका तीन हजार ६ सय ५० घरमा पानीको धारा पुगेको छ, दुईवटा ठूला आयोजना निर्माणाधीन छन् ।” गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भन्नुभयो, “आगामी दुई वर्षभित्र सबै घरमा पानीको धारा पु¥याउने लक्ष्य छ”, उहाँले सङ्घबाट बजेट घटेर आउँदा भने काममा समस्या आउन सक्ने बताउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *