हङकङसँग नेपाल ३ विकेटले पराजित, एसियन कप छनोटबाट बाहिरियो

काठमाडौं – एसिया कप छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको ९६ रनको सामान्य लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर पनि ब्याटिङ गर्न सकेन ।

हङकङका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ३७.५ ओभरमै ९५ रनमा अलआउट भयो । नेपालको लागि आरिफ शेखले १८, ओपनर अनिल कुमार शाहले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए । सागर पुन ७ तथा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने २-२ रन बनाएर आउट भए । ओपनर सुबास खकुरेल र सोमपाल कामीले खाता समेत खोल्न सकेनन् । बसन्त रेग्मी १५ रनमा नटआउट रहे ।

नेपाललाई अलआउट गर्न हङकङका एहसान खानले ७.५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए । यस्तै तनवि अफजल र अइजाज खानले २-२ विकेट लिए । हङकङलाई प्रतियोगितामा तेस्रो जित दिलाउन कप्तान अंशुमन राथले अर्धशतकिय पारी खेले । ८२ बल खेलेका रथले ३ चौका र १ छक्काको मद्दतमा ५२  रन बनाए। यस्तै किन्चित शाहले ११ रन योगदान गरे।

हङकङका अन्य खेलाडीले दोहोरो अंक छुन नसकेपनि नेपालले कम स्कोर बनाएका कारण डिफेण्ड गर्न सकेन । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै सागर पुन र बसन्त रेग्मीले १-१ विकेट लिए ।

लिगमा ३ खेलमा जित तथा एक खेलमा अंक बाँडेको हङकङले ५ खेलबाट ७ अंक जोडेको छ र हङकङले शीर्ष दुईमा रहदै फाइनल पुग्न अहिले भइरहेको ओमान र युएईबीचको खेलको नतिजा कुर्नुपर्नेछ । उक्त खेलमा ओमान विजयी भए ओमान र हङकङ फाइनल पुग्नेछ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *