छुट सुविधा नदिने अस्पताल बन्द गर्ने मेयर बालेनको चेतावनी

लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत नछुट्याउने र निःशुल्क उपचार गर्नुपर्ने लगायत स्वास्थ्य सुविधाहरू उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बताएका छन्।

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत नछुट्याउने र निःशुल्क उपचार गर्नुपर्ने लगायत स्वास्थ्य सुविधाहरू उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बताएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्य उपचारमा उपलब्ध गराउनु पर्ने छुट सम्बन्धी व्यवस्था कार्यान्वयन गराउन उनले ध्यानाकर्षण गराएका थिए।

महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा ६८ स्वास्थ्य संस्थाहरूले विवरण उपलब्ध गराएका थिएनन्। तिनलाई नियमन र कारबाही गर्न तथा कानूनले तोके बमोजिम सुविधा उपलब्ध गराउन मन्त्री बस्नेतसमक्ष साहले अनुरोध गरेका थिए।

“यदि मन्त्रीज्यूले सात दिनभित्र उहाँहरू (विवरण उपलब्ध नगराउने अस्पताल)लाई कानूनी दायरामा ल्याउनुभएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,” मेयर साहले भनेका छन्। नेपालको संविधान र प्रचलित कानूनले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने तीन तहका सरकारको साझा दायित्व भएको बताउँदै साहले स्वास्थ्यमा सर्वसाधारणको सर्वसुलभ पहुँच अभिवृद्धि हुनुपर्ने पनि बताएका छन्।

“यस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने र विद्यमान कानून अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउने जिम्मेवारी स्वास्थ्य संस्थाबाट कार्यान्वयन हुनुपर्छ,” उनले भने।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सम्बन्धी विवरण उपलब्ध गराउन जेठ ६ गते महानगरले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *