रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारीको विरोधमा निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले मनोनयन दर्ता गराएकामा लामिछानेविरुद्ध चार जनाको उजुरी परेको हो । आज उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । लामिछानेबाहेक अन्य उम्मेदवारको विरोधमा भने उजुरी परेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एउटा उजुरी काठमाडौंबाट ई–मेलमा प्राप्त भएको हो । उम्मेदवारका तर्फबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबारभित्र निर्णय लिनु पर्नेछ । ‘एउटा उजुरी सर्वसाधरणबाट काठमाडौंदेखि ई–मेलमा आएको छ । त्यो पनि यहाँ दर्ता भयो । त्यसका बारेमा हामीले सात दिनभित्र उजुरी परेको उम्मेदवारसँग स्पष्टीकरण लिएर बाँकी प्रक्रियाका लागि फाइल निर्वचन आयोगमा पठाउने छौं,’ चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने । बाँकी उजुरीमा बुधबार ५ बजेभित्र निर्णय दिने उनले बताए ।

राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दर्ता गराएका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले रवि लामिछानेले विदेशी नागरिकता त्यागेपछि प्रक्रिया पुर्‍याइ नागरिकता लिएको तीन महिना पुगेको नदेखिने हुँदा उनी उम्मेदवार हुन योग्य छैनन् भन्दै उजुरी (दाबी/विरोध) दर्ता गराएका छन् । प्रक्रिया पुर्‍याएर नागरिकता लिएको नदेखिने भन्दै मुद्दा परेपछि सर्वोच्च अदालतले गत मंसिरमा चितवन–२ बाट विजयी लामिछानेको सांसद् पद खारेज गरेको थियो । सोही कारण चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

अमेरिकी नागरिकता वा स्थायी अनुमति प्राप्त त्यागेको जानकारी गराएपछि लामिछानेले माघ १५ मा नागरिकता लिएको जिकिर पुरीले दिएको उजुरीमा उल्लेख छ । सोही मितिलाई उनले अमेरिकी नागरिकता त्यागेको औपचारिक जानकारीका रुपमा लिनुपर्ने उजुरीमा भनिएको छ ।

‘नेपालको संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ । माघ १५ मा नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा भएको देखिँदैन,’ उजुरीमा उल्लेख छ । उम्मेदवारी मनोनयन दर्ता गरेपछि सोमबार सञ्चारकर्मीहरुसँग लामिछानेले अदालतको फैसलामा अमेरिकी नागरिकता सन् २०१८ मा त्यागेको देखिने भनेर उल्लेख भएको हुँदा यो विषय निरुपण भएको प्रतिक्रिया दिएका थिए ।

लामिछानेविरुद्ध दर्ता भएका अन्य उजुरीको विषय पनि यही रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले मुख्य निर्वचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । त्यसैगरी काठमाडौंबाट युवराज पौडेलले पनि ई–मेलबाट पठाएको उजुरी कार्यालयमा दर्ता भएको हो ।

चितवन–२ मा दलबाट १२ र स्वतन्त्र १२ गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार उम्मेदवारहरुको योग्यतामाथि दाबी/विरोध पेस गर्ने समय दिउँसो ३ बजेभित्र रवि लामिछानेका विरुद्ध मात्रै उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *