जनगणनाको जनजाति, भाषा, धर्म सम्बन्धी हल्ला गलत: राष्ट्रिय तथ्याङ्क कार्यालय

काठमाडाैं । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको जनजाति, भाषा र धर्म सम्बन्धी विवरणबारे भ्रामक र गलत प्रचार भइरहेको जनाएको छ।

कार्यालयले बिहीबार प्रेस विज्ञप्ति निकालेर जनगणनाको जनजाति, भाषा र धर्म सम्बन्धी विवरणलाई अन्तिम रूप दिने कार्य भइरहेको र चाँडै सार्वजनिक गरिने उल्लेख गरेको छ। कार्यालयले जनगणना २०७८ को मूल विवरण सार्वजनिक गरे पनि जनजाति, भाषा र धर्म सम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छैन। यो सार्वजनिक नहुँदा सामाजिक सञ्जाल सहित सार्वजनिक मञ्चमा जनगणनाबारे विभिन्न अफवाह र आशङ्का फैलिएको छ।

कार्यालयका प्रवक्ता नेबिनलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला व्यक्ति र संस्थाबाट ७० वटा माग तथा ध्यानाकर्षण पत्र कार्यालयमा दर्ता भएको जनाइएको छ। खासगरी आफ्नो छुट्टै भाषा, जाति र धर्म रहेको भन्दै दाबी गरिएको हो।

थरलाई जात कायम गर्ने, जात अनुसार मातृभाषा कायम गर्न, ठाउँ अनुसार भाषा कायम गर्न तथा २०६८ सालको जनगणनामा गणना भएका जातजातिलाई जोडिदिन र कतिपयलाई अलग गर्न उजुरी परेको कार्यालयले जनाएको छ।

कार्यालयले यस विषयमा विज्ञ र संवैधानिक आयोगका प्रतिनिधिसँग छलफल गरिरहेको र सुझाव लिइरहेको जनाएको छ। त्यसैले धर्म, जाति र भाषाका सन्दर्भमा भइरहेका हल्ला, आशङ्का भ्रमपूर्ण र गलत रहेको भन्दै कार्यालयले त्यस्ता समाचार, धारणा नपत्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *