वायुमण्डलमा २० लाख वर्षयताकै उच्च कार्बनडाइअक्साइड

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी)को रिपोर्टले पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च मात्रामा पुगेको देखाएको छ ।

संयुक्त राष्ट्रसंघलाई सुझाव दिने विज्ञहरूको समूहका रूपमा रहेको आईपीसीले सोमबार (हिजो) सार्वजनिक गरेको रिपोर्टमा पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियस बढिसकेको जनाइएको छ ।

विश्वभरका मुलुक यसअघि वैश्विक तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सहमत भएका थिए । तर, विज्ञले सन् २०३० सम्म तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नाघ्न सक्ने बताएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो रिपोर्ट ‘मानवताको रक्षाका लागि मार्गनिर्देशन’ भएको बताएका छन् । उनले सबै देशले यो दशकभित्र ‘नेट जेरो’ योजना सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप२८ अघि सार्वजनिक आईपीसी रिपोर्ट २०१८ देखि प्रकाशित हुँदै आएको छ । यसले जलवायु परिवर्तनका कारण पृथ्वीमा परिरहेको असर र भोलिका दिनमा पार्ने झनै गम्भीर प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । शताब्दीमा एकपटक आउने चरम तटीय बाढी सन् २१०० सम्म वार्षिक रूपमा आउन सक्ने रिपोर्टमा जनाइएको छ ।

यस्तै, पृथ्वी अहिले एक लाख २५ हजार वर्षयताकै उच्च तापक्रमको विन्दुमा पुगेको र आउँदो दशकमा यो अझै बढ्दै जाने रिपोर्टमा उल्लेख छ ।

पृथ्वीको तापक्रम बढाउने हरितगृह ग्यासको निकै कम उत्सर्जनले अब १.५ डिग्री सेल्सियको तापमानको लक्ष्य हासिल गर्न कठिन स्थिति रहेको रिपोर्टमा जनाइएको छ ।

कार्बनडाइअक्साइडको उत्सर्जन गर्ने जीवाश्म इन्धनका पहिलेकै पूर्वाधार र प्रयोग नै यो लक्ष्यका लागि चुनौती रहेको तथा यो क्षेत्रमा नयाँ लगानी झनै खतरनाक हुने पनि जनाइएको छ ।

तापक्रम यो लक्ष्यभन्दा बढेमा पृथ्वीमा जोखिम धेरै हुनेछ । तर, सौर्य र सोलार ऊर्जा निकै सस्तो बनाउन सके राम्रो उपलब्धि हासिल हुन सक्ने रिपोर्टका लेखकहरू बताउँछन् ।

कार्बनडाइअक्साइड उत्सर्जन गर्ने सवारी निरुत्साहित गर्ने, खाना खेर फाल्ने र खाने प्रचलको फेरबदलजस्ता गतिविधिले पनि जलावयु परिवर्तन रोक्न मद्दत गर्ने उनीहरूको भनाइ छ ।

ठूलो मात्रामा नेट जेरो उत्सर्जनको लक्ष्य हासिल गर्न चाँडोभन्दा चाँडो कार्बनडाइअक्साइड हटाउने प्रविधि ल्याउन सके त्यसले ठूलो सहयोग पुर्‍याउने विज्ञहरू बताउँछन् । तर, कार्बनडाइअक्साइड हटाउने, सोस्ने र भन्डारण गर्नेजस्ता प्रविधि वा अवधारणा विचलन हुने भन्दै यसको आलोचना पनि भइरहेको छ ।

नेट जेरोको अर्थ उत्पन्न हुने हरितगृह ग्यासको मात्रा र वायुमण्डलबाट हट्ने हरितगृह ग्यासको मात्रा बराबर हुने सन्तुलित अवस्था हो । जीवाश्म इन्धनको प्रयोगले ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छ ।

रुखबिरुवाले कार्बन्डाइअक्साइडको प्रयोग र भन्डारण गरी वायुमण्डलमा यसको मात्रा घटाउँछन् । वायुमण्डलमा थुपारिने हरितगृह ग्यासले सूर्यको प्रकाश अवशोषित गर्छ र पृथ्वीको तापक्रम बढाउँछ । बीबीसीबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *